
काठमाडौं । काठमाडौंमा मेलम्ची पानीको औपचारिक उद्घाटन हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने बताइएको छ ।
दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
यसअघि आयोजनाले २३ गते सोमवार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो ।
काठमाडौमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ । अहिलेसम्म काठमाडौंको महांकाल, मिनभवन र खुमलटारको ट्यांकीबाट पानी वितरण सुरु भएको छ ।
यता काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा हिजोदेखि पानी पठाउन थालिएको लिमिटेडले जनाएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्