१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अझै सुरु भएन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक, कार्यतालिका हेरफेर र सत्ता समीकरण मुख्य एजेण्डा


0
Shares

रोमन आचार्य
काठमाडौं । २ बजेको लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सुरु हुन सकेको छैन । नेताहरूको आन्तरिक छलफल नटुङ्गिएपछि बैठक सुरु हुन नसकेको हो ।

बैठकअघि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक छलफल भएको थियो । त्यसलगत्तै देउवा र पौडेल छलफलमा जुटेपछि बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला हुँदा पनि सुरु हुन नसकेको हो ।

१४औं महाधिवेशनको कार्यतालिका हेरफर र नयाँ सरकारका लागि सत्ता समीरकण विषय आजको बैठकको मुख्य एजेण्डाहरू हुन् । कांग्रेसले यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यको टुङ्गो लगाउने गरी कार्यतालिका बनाएको भए पनि अहिलेसम्म सदस्यता टुङ्गो नलाग्दा कार्यतालिका हेरफेर गर्नुपर्ने भएको हो ।

यस्तै, नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसको निर्णयलाई नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि कुरेर बसेकाले आजको बैठकलाई सबैले चासोका साथ हेरेका छन् । माओवादी केन्द्रले पनि कांग्रेसको निर्णयलाई हेरेर आफूहरूले थप निर्णय गर्ने जनाएकाे छ ।