१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसका नेताबीच दुई विषयमा सहमति


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि भएको छलफलमा दुई विषयमा सहमति जुटेको छ ।

पार्टी कार्यालय सानेपामा बैठकअघि भएको शीर्ष नेताहरूको छलफलमा दुई विषयमा सहमति भएको छलफलम सहभागी एक नेताले जानकारी दिनुभयो ।

छलफलमा भदौको महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता इन्ट्री गर्ने समय थप्ने र राप्रपाबाट कांग्रेसका प्रवेश गरेका ४८ जिल्लाका १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने सहमति भएको उहाँले बताउनुभयो ।

छलफलमा भएका सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकमा लगिने छ । दिउँसो दुई बजेको लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

कांग्रेसले यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यको टुङ्गो लगाउने गरी कार्यतालिका बनाएको भए पनि अहिलेसम्म सदस्यता टुङ्गो नलाग्दा कार्यतालिका हेरफेर गर्नुपर्ने भएको हो ।

यस्तै, नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसको निर्णयलाई नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि कुरेर बसेकाले आजको बैठकलाई सबैले चासोका साथ हेरेका छन् । माओवादी केन्द्रले पनि कांग्रेसको निर्णयलाई हेरेर आफूहरूले थप निर्णय गर्ने जनाएको छ ।