१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली कांग्रेस मुख्य खेलाडी नै हाेइन– विष्णु रिजाल


0
Shares

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहका नेता विष्णु रिजालले सरकार परिवर्तनको सन्दर्भमा नेपाली कांग्रेस मुख्य खेलाडी नरहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जालमा एक स्टाटास लेख्दै उहाँले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपत बाहेक अरु केही नभएको बताउनुभएको छ ।

सत्ताको बल जसपासँग रहेको र जसपा प्रधानमन्त्रीसँग सघन सम्वादमा रहेकाले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने रिजालको जिकिर छ।

‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने, अनि सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ ?’, रिजालले प्रश्न गरेका छन्।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केपी ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेसको यो निर्णयको सराहना गरेका छन् ।

यता, प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर राजीनामा दिने घोषणा गर्नुभएको छ ।