१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आरबीबी एनभीए भलिबलमा एपीएफ पराजित : पुलिस, आर्मी र न्यू–डाइमण्ड विजयी


0
Shares

काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ एपीएफ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा शनिबार भएको डर्बी भिडन्तमा पुलिसले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती दुई सेट एपीएफले २५–२० र ३०–२८ ले जितेको थियो ।

तर, त्यसपछिका सेटमा भने पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । पुलिसले तेस्रो सेट २५–२३, चौथो सेट २५–१९ र पाँचौं सेट १५–११ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । पुलिसले २ खेलमा ५ अंक जोडेको छ ।

पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।

शनिबार नै भएको खेलमा न्यू–डाइमण्डले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा हराएको थियो । त्यस्तै विभागीय टिम आर्मीले ढोरपाटनलाई ३–० को सेटमा हराएको थियो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।