
चितवन । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले माधव नेपाल लगायत नेताहरूलाई मूलधारमा फर्कन आग्रह गर्नुभएको छ ।
जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा एमाले चितवनले आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ज्ञवालीले कम्युनिष्ट आन्दोलनका अभिभारा पूरा गर्न बाँकी रहेकाले विगतका गल्ती सच्याएर, गुटगत र अतृप्त सपना त्यागेर फर्कन आग्रह गर्नुभयो ।
मूलधारमा नफर्किए उनीहरूलाई जनताले तिरस्कार गर्ने मन्त्री ज्ञवालीको भनाइ छ । अहिले हिँडेको बाटो आन्दोलनलाई सफल बनाउने नभएको भन्दै उहाँले अध्यक्ष केपी ओलीले गरेको कारबाहीको बचाउ गर्नुभयो ।
महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सडकबाट कारबाही गर्नेहरूले अहिले गुनासो गर्न नसुहाउने मन्त्री ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामबाट अत्तालिएर षडयन्त्र भएको भन्दै उहाँले संसद पुनःस्थापनापछि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो ।
*यसअघि प्रकाशित समाचारमा परराष्ट्रमन्त्री ज्ञवाली हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ– सम्पादक
प्रतिक्रिया दिनुहोस्