
काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपीएफले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा एपीएफले प्रदेश एकलाई ८ विकेटले हराउँदा सुदुरपश्चिमले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गर्यो ।
टीयु क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोकाटीले ४१ रनको योगदान गरिन् । डोली भट्टले अविजित २२ रन बनाइन् । ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १–१ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन् । अविजित रहेकी कन्चनले ६३ रन बनाइन । सुदूरपश्चिमकी कविता जोशी, ऋतु कनोजिया र सम्झना खड्काले १–१ विकेट लिए ।
यसअघि आजै भएको पहिलो खेलमा एपीएफले विजय सुरुवात गरेको छ । उद्घाटन खेलमा एपीएफले प्रदेश एकलाई ८ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६ रन बनायो ।
जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पाँच टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्