
काठमाडौं । नेपालमा पनि कोरोनाको बेलायती भेरिएन्ट फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गर्दै रात्रीकालिन ब्यावसाय राती ९ बजेपछि बन्द गराउन निर्देशन दिएको हो । काठमाडौं र पोखरासहित ठूला सहरका विद्यालयमा संक्रमण वृद्धि भएको भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएको छ ।
सार्वजनिक यातायातमा भीडभाड नगर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मठ मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्न पनि निर्देशन दिईएको छ ।
यस्तै राती ९ बजेपछि रेष्टुरेष्ट, होटेल लगायतका रात्रीकालिन ब्यावसाय बन्द गर्न निर्देशन दिइएको छ भने ठूला सहरमा एक हजार र साना शहरहरूमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा आवागमनमा कडाइ गर्न भनिएको छ ।
घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय पीसीआर गरिएकोमा २९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस मध्ये काठमाडौँ उपत्यकाका १६३ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५, ललितपुरमा २६ र काठमाडौँमा १३२ संक्रमित थपिएका हुन् । अहिले देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्