
काठमाडौं । मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।
त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका छन् । तर यही मेलम्चीकै पानी ल्याउने क्रममा ज्यान गुमाएका इन्जिनियर र बेपत्ता चालकबारे कसैले बोल्ने ‘कष्ट’ गरेनन् ।
हराएका सवारी चालक राधाकृष्णको दाहसंस्कार परिवारले शवबिनै गरिसकेको छ । शव नभेटिँदै घटनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर हतारका साथ मेलम्चीको मुहानस्थल पुगेका थिए ।
तीनै जनाले कन्ट्रोल कक्षको स्विच थिचेर उद्घाटन गरेपछि अस्थायी डाइभर्सनबाट सुरुङको मुख्य गेटसम्मको २ सय ७० मिटर पानी बग्यो । त्यसपछि मेलम्चीको पानी काठमाडौंसम्म ल्याइपुर्याउने काम विभिन्न चरणमा चल्यो ।
घटना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्रमणको दर तीव्र बनेकाले मलेसिया–काठमाडौं उडान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घटनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि राधाकृष्णको शव खोज्न चासो देखाएको थियो ।
आफन्तले घटनापछि ४–५ दिनसम्म सम्भावित स्थानमा शव खोजेका थिए । तर समय बित्दै जाँदा खोजीको चासो पनि हट्दै गयो । राधाकृष्णको मृत्यु भएपछि आयोजनाको परामर्शदाताका रूपमा काम गरिरहेको स्पेनको इप्टिसा बेट्स जेभी कम्पनीका तर्फबाट संगमले रेकर्ड किपरको जागिर पाएका छन् ।
उनको परिवारलाई कम्पनीले कामदार बिमाबापतको १० लाख रुपैयाँ थमाएको छ । संगमले भने, ‘त्यसबाहेक अरू क्षतिपूर्ति वा सम्झिने कुनै काम भएको छैन ।’ मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले इन्जिनियर सतीशकृष्ण र सवारी चालक राधाकृष्ण दुवै सिनो हाइड्रोमार्फत काम गरेकाले आयोजनाले कुनै क्षतिपूर्ति नदिएको बताए । उनले भने, ‘उचित किसिमले सम्बोधन गरिदिनुहोला भनेर कम्पनीलाई पत्राचार भने गरेका थियौं ।’
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्