
म्याग्दी । जिल्लाका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । सामुदायिक वनमा १० देखि १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुर्याएको छ ।
आगलागीले साना–ठूला सयौँ रूखविरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपंक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।
सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलमा आगो लगाउने गरिएको पाइएको छ । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा १० लाख रुपैयाँ बजेटमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गरे पनि प्रभावकारी काम हुन सकेको छैन ।
सामुदायिक वनमा आगलागी भएपछि वातावरणीय प्रदूषण बढेको छ । आगलागीबाट एकातिर वनजंगल, जंगली जनावर र जडीबुटी नष्ट भएका छन् भने अर्कोतर्फ मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको वन तथा वातावरण क्षेत्रका जानकारहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्