१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशमा प्रतिबन्ध, तत्काल भ्रमणमा नआउन अपिल


0
Shares

सुनसरी । पर्यटकीय क्षेत्रसमेत रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा १४ वटा जङ्गली दारे हात्तीले उदण्ड मच्चाउन थालेपछी प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

सर्वसाधारणको सुरक्षाको लागि प्रवेशमा रोक लगाइएको आरक्षका प्रमुख अशोक रामले जानकारी दिनुभयो । आरक्षमा सात वटा घरपालुवा पोथी हात्ती भएकाले जङ्गली हात्ती प्रवेश गरेको उहाँको भनाइ छ ।

जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले सर्वसाधारणको गतिविधिमा रोक लगाउनुका साथै सार्वजनिक सूचना जारी गर्दै बैशाख ७ गतेसम्म स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकहरू र साना सवारी साधनलाई आरक्ष प्रवेशमा रोक लगाइएको रामले बताउनुभयो ।

आरक्षले चार पाङग्रे बन्द गाडीका पर्यटकलाई भने प्रवेश दिएको छ । यद्यपि जोखिम रहेकाले तत्कालाका लागि आरक्षको क्षेत्रको भ्रमणमा नआउन आरक्षको अपिल छ ।

आरक्षमा हात्तीको उश्रृंखल गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालयले पनि उच्च सुरक्षा सतर्कता अपनाएको छ । जङ्गली हात्तीको गतिविधि नियन्त्रण गर्न र मानव बस्तीको सुरक्षा गर्न सुनसरीको जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

हात्तीको आक्रमणबाट हुने क्षति न्युनिकरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । उहाँले आरक्ष क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।