२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


अहिलेको सरकार इतिहासकै विवेकहीन– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजिक नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना भएको बताउनुभएको छ ।

संविधानसम्मत कुराहरूलाई गलहत्याउँदै असंवैधानिक कुराहरूलाई सरकारले पछ्याइरहेको अध्यक्ष दाहालले बताउनुभयो । सरकारको बलमा अदालतले अराजकता कायम गरेको उहाँको आरोप छ । अदालतले अप्राकृतिक निर्णय गरेको उहाँको भनाइ छ । अदालत सेटिङमा चल्न थालेपछि न्याय पाउने आशा अहिलेको लागि नभएको उहाँको टिप्पणी छ ।

अध्यक्ष दाहालले अहिलेको सरकारले संविधानालाई धुजाधुजा पारेकाले संविधान र लोकतन्त्र रक्षाका लागि आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभएको छ । यद्यपि उहाँले उक्त आन्दोलनले मजदुर, किसान, आम जनतालाई किसानलाई दुःख नदिइ आन्दोलनमा जाने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले निजामती कर्मचारी ऐन संविधानको मर्म बमोजिम बनाउनुपर्छ भनेर ड्राफ्ट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका कारण प्रदेश र स्थानीय तहले समेत ऐन बनाउन नपाएको आरोप लगाउनुभयो । संसद्भित्रको आधिकारिक समितिले निर्णय गरे पनि प्रधानमन्त्रीले अटेर गरेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली सरकारमा धेरै दिन नरहने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताउनुभयो । उहाँले केही दिनभित्रै कालो बादल हट्ने पनि बताउनुभएको छ ।