
कैलाली । ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिसले आयोजना गरेको सातौं संस्करणको धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जित्नुभएको छ ।
२१.१ किलोमिटरको दूरी उनले एक घण्टा ६ मिनेट ८.१८ सेकेन्डमा पार गर्दै उपाधि जित्नुभएको हो । लगातार तेस्रोपटक उपाधि हात पार्नुभएका उहाँले उपाधिसँगै ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नुभयो ।
त्यस्तै, निर्धारित दूरी एक घन्टा ९ मिनेट ८.५३ सेकेण्डमा पार गर्दै बैतडीका नरेन्द्र रावतले दोस्रो हुँदा सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो हुनुभयो । उहाँले निर्धारित दूरी एक घन्टा १२ मिनेट ४.२७ सेकेण्डमा पार गर्नुभएको थियो । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले क्रमशः ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पाएका छन् ।
पहिलोपटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फ दौडको उपाधि कैलालीकी सीमा चौधरीले जित्नुभयो । उहाँले निर्धारित दूरी २० मिनेट ११ सेकेण्डमा पूरा गर्नुभयो । उपाधिसँगै चौधरीले पाँच हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नुभयाे ।
प्रतिस्पर्धामा सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए । चौधरीले निर्धारित दूरी २० मिनेट ४४.२८ सेकेण्ड र खड्काले २२ मिनेट ६.३१ सेकेण्डमा पूरा गरे । दोस्रो र तेस्रो हुनेले क्रमशः तीन हजार ३ सय ३३ र दुई हजार २ सय २२ रुपैयाँ प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्