
एजेन्सी । म्यानमारमा सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
गत फेबु्रअरी १ मा भएको सैन्य कू पछि यस्तो सजाय सुनाइएको यो पहिलो पटक हो । गत मार्च २७ मा याङ्गोनको उत्तरी ओकालापा जिल्लामा उक्त हत्या भएको बताइएको छ । सो जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई सजाय सुनाउने अधिकार दिइएको छ ।
यता उत्तरी म्यानमारको प्रान्त शानमा जातीय सेनाको एक गठबन्धनले प्रहरी चौकीमा आक्रमण गरेको छ । घटनामा १० प्रहरी मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शान प्रान्तको रहेको चौकीमा शनिबार बिहान अराकान आर्मी अरकान सेना, टाङ लिबरेसन आर्मी र म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी गठबन्धनले आक्रमण गरेको स्थानिय समाचार माध्यमले जनाएका छन् । सेनाले भने घटनाको पुष्टि गरेको छैन ।
केही दिन पहिलेमात्रै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले सेनाले जनतालाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने चेतावनी दिएका थिए ।
हालसम्म म्यानमारमा आन्दोलन दबाउने क्रममा सुरक्षाकर्मीले ६ सयभन्दा बढीको हत्या गरिसकेको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्