५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


दक्षिण कोरियामा रहेको नेपाली श्रमिकले १ वर्षको भिसा थप्न पाउने


0
Shares

एजेन्सी । दक्षिण कोरियामा इपिएसमार्फत आएर श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा (भिसा) एक वर्ष थप हुने भएको छ ।

कोरियाको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ ।

प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि एक वर्ष थपिने बताउनुभयो ।

यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइ अवधि पाँच वर्ष १० महिना हुनेछ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन् ।

कोरियामा १३ महिनादेखि कोही विदेशी मजदूर नभित्रिँदा हुन गएको श्रमिक अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले उक्त नियम ल्याएको हो ।