
धनुषा, साउन ९ । सरकार गठन भएको पाँच महिनापछि प्रदेश–२ को सरकार विस्तार भएको छ ।
प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराए ।
सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् ।
राजपाका सहमहामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री भएका छन् ।
शपथग्रहण समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिए ।
राजपा अध्यक्षमन्डलको सोमबार काठमाडौंमा बसेको बैठकले सरकारमा पार्टीको तर्फबाट तीनजना राज्यमन्त्री पठाउने निर्णय गरेको थियो ।
प्रदेश–२ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धनको सरकार छ । रासस
प्रतिक्रिया दिनुहोस्