
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका विभिन्न प्रयास जारी रहेकाले चाँडै लकडाउन गर्ने योजना नरहेको बताउनुभएको छ ।
नयाँ वर्ष २०७८ को सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारले जारी गरेका सुरक्षाका मापदण्ड पालना गरेर नागरिक आफैं सुरक्षित रहे कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदम फलदायी हुने बताउनुभयो ।
उहाँले विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले सतर्कता विधिलाई नै अघि सारेको बताउनुभएको हो । परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको भन्दै प्रधानमन्त्री ओलीले सावधानी अपनाउन सबैलाई अपिल पनि गर्नुभयो ।
उहाँले कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भन्दै आफू त्यो पक्षमा नरहेको जिकिर गर्नुभएको छ । उहाँले सरकारले विकास निर्माणका कामलाई उच्च प्राथमिकताका राखेकाले निराशा जगाउन खोजिएका प्रयासहरु मान्य नहुने तर्क गर्नुभयो ।
उहाँले लामो समयदेखिको प्रतीक्षामा रहेका मेलम्ची खानेपानी काठमाडौंमा ल्याएको भन्दै देशभर विकास निर्माणका कामले तीव्रता पाएको बताउनुभयो ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले विदेशा असुरक्षा रहेकाले देशभित्रै रहेर उपयुक्त रोजगारीका अवसर खोज्न आग्रह गर्नुभयो । उहाँले युवाहरुको दक्षता र सीपको प्रयोग देशको विकासमा लगाउनु आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्