
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष अवसरमा देशबासीका नाममा सम्बाेधन गर्दै एक वर्षको समीक्षा गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बुधबार शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ र राजनीतिक पृष्ठभूमि उथुलपुथुल अवस्था सिर्जना भए पनि ०७७ सालमा आशलाग्दा थुप्रै कामहरू भएको दाबी गर्नुभयो ।
२०७७ मा प्रतिकुलताका बीच असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष बनेको प्रधानमन्त्रीले दाबी गर्नुभयो । दशकौंपछि मेलम्चीको पानी काठमाडौं आएको, अतिक्रमित भूमि फिर्ता, पुनःनिर्माणका कामहरूले पूर्णता पाउने क्रम बढेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफ्नो भू–भागसमेत सामेल गरेर नयाँ नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरवसँगै सबैमा आत्मविश्वास बढाएको दाबी गर्नुभयो । सरकारले सातै प्रदेशमा ठूला नयाँ औद्योगिक क्षेत्रको सिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकुल वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो ।
कतिपयले सरकारले चाँडै नै लकडाउन गर्न सक्ने हल्ला गरेको भन्दै प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । सरकारले गरेका कामहरू नदेख्ने समूहले निरन्तर जनता भड्काउने प्रयास भइरहे पनि सरकारका क्रियाकलापप्रति जनताले आशा र भरोसा गरेको उहाँको भनाइ थियो ।
प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, १२ वटा आवासगृह निर्माण भइरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, राजमार्गको स्तरोन्नति र निर्माणको काम भइरहेको फेहरिस्त प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभयो । महिनाको १ सय बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता दिनको १ सयमा पुगेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि वृद्धि गर्ने जानकारी दिनुभयो ।
२०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको भन्दै प्रधानमन्त्री ओलीले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसीसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभएको छ ।
सरकारले सामाजिक जीवनको कुनै पनि क्षेत्रलाई नबिर्सेको उल्लेख गर्दै सबैको समस्या समाधानका लागि सरकार सजग रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्