
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिष्टको सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण देश अस्थिरताको दलदलमा फसेको बताउनुभएको छ ।
बुधबार राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले संवैधानिक अंगका प्रमुखहरूमाथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटो तर्फ लैजान नसक्ने बताउँदै थापाले त्रुटिपूर्ण मार्गचित्र परिवर्तनका लागि गम्भीरतापूर्वक चिन्तन हुनुपर्नेमा जोड दिनुभयो । मुलुकको ठूलो समस्या भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावाद भएकाले यसको लागि लड्नसक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको बताउनुभयो ।
गणतन्त्रका सम्बााहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे व्यवस्थामा रुपान्तरण गरेको थापाको आरोप छ । माओवादी केन्द्रका अध्यक्ष दाहालतर्फ संकेत गर्दै थापाले विदेशीबाट पोसिएको भन्दै आरोप लगाउनेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको देख्दा उदेक लागेको बताउनुभयो ।
राप्रपालाई देश र जनताले खोजेको वैकल्पिक शक्ति बनाउन महाधिवेशन केन्द्रित भइ संगठन निर्माणमा होमिनुपर्नेमा थापाको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्