
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वैकल्पिक सरकार गठनबारे औपचारिक निर्णय लिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेसको प्रयास सफल हुन सकेको छैन ।
जसपाले औपचारिक निर्णय गर्न नसक्दा प्रमुख प्रतिपक्ष कांग्रेसले सरकार गठनको प्रक्रिया अघि बढाउन नसकेको हो ।
जसपाले अविश्वासको प्रस्ताव दर्ता भएपछि आफूहरुलाई औपचारिक निर्णय लिन सहज हुने भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न वा वैकल्पिक सरकारमा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव अघि सारेको छ ।
जसपाका नेताहरुबीच नै ओली नेतृत्वको सरकारसँग मिलेर अघि बढ्ने वा नयाँ गठबन्धन गर्ने भन्ने विषयमा चर्को मतभेद रहेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वर्तमान सरकारलाई समर्थन गरेर अघि बढ्ने सोचमा हुनुहुन्छ भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई कांग्रेससँग मिलेर ओलीको विकल्प खोज्ने पक्षमा हुनुहुन्छ ।
आन्तरिक किचलोका कारण औपचारिक निर्णय गर्न नसकेको जसपाकै कारण नयाँ सरकार गठनको प्रक्रियामा कांग्रेस आफै अलमलमा परेको छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा आएमात्र वैकल्पिक सरकार बन्ने स्थिति बन्छ ।
जसपाको अनिर्णयका कारण प्रतिनिधिसभा पुनःस्थापना भएको डेढ महिना पुग्दा पनि सरकार निर्माणले ठोस आकार लिन सकेको छैन ।
माओवादी केन्द्रले तीन दलबीच समझदारी जुटाएर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउँदा उचित हुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्