
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भइ संसद्मा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित भएका छन् ।
संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्था अनुसार नायव सुब्बाहरूमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र काम गर्ने नायव सुब्बाहरूले सिंहदरबार भित्रै प्रदर्शन गरेका हुन् ।
राजपत्र अनङ्कित तृतिय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्धितिय श्रेणीको खुला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफुहरुको रहेको नायब सुब्बा श्रीराम पौडेलले बताउनुभयो ।
प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरूको मनोबल घटाउने मात्र नभई हित विपरित भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायब सुब्बा लक्ष्मीप्रसाद शर्माले बताउनुभयो । प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामति सेवा नभएको उहाँको भनाइ छ ।
प्रस्तावित ऐनले कर्मचारीहरूको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरूलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागीले बताएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने उनीहरूको भनाइ छ ।
प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरूले ‘प्रहरी दमन मुर्दाबाद’ भन्दै नारावाजी समेत गरेका थिए । माग पूरा नभएसम्म आफुहरूको आन्दोलन जारी रहने नायव सुब्बाहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्