
भरत शर्मा
पाल्पा । विगतका वर्षहरूमा जिल्लाका माडी, अर्गेली, कचल, पूर्वखोलालगायतका फाँटहरूमा चैते धान रोप्ने चटारो हुथ्यो । तर, अहिले यहाँका अधिकांश फाँटहरूमा फाट्टफुट्ट मात्र धान खेती हुने गरेको छ ।
जिल्लाका धेरै क्षेत्रमा आकाशे पानीकै भरमा चैते धान लगाउनुपर्ने र यस वर्ष अहिलेसम्म पानी नपरेकाका कारण बैशाख लाग्दासमेत पर्याप्त रोपाईं हुन सकेको छैन । पाल्पाको रामपुरका केही स्थानमा भने चैते धानको खेती भएको छ ।
रामपुर नगरपालिका–४ को माथिल्लो बडभान र तल्लो बडभान क्षेत्रमा बाजा गाजा सहित धान रोपाईं भएको छ । बडभान क्षेत्रमा स्थानीय जातको चैते धान पकेट क्षेत्र कार्यक्रम सञ्चालन भएसँगै यहाँका कृषकहरू उत्साहित भएका छन् । चैते धान खेती कृषकहरूको परम्परागत खेती भए पनि खाद्य सुरक्षाको लागि चैते धान खेतीलाई निरन्तरता दिएको किसान बुद्धिमान नेपाली बताउनुहुन्छ ।
रामपुर नगरमा सिँचाई सुविधा भएका खेतहरू खाली रहेको अवस्थामा बडभान क्षेत्रका ६ सय रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । पकेट क्षेत्र अन्तर्गत नयाँ जातको धान ३ सय रोपनी क्षेत्रफलमा रोपिएको छ ।
मकै खेतीतर्फ कृषकहरू आकर्षित भइरहेको अवस्थामा चैते धान खेतीको विस्तार र संरक्षणका लागि नगरको कृषि शाखाले विउ, मल र औजारमा अनुदान दिएपछि किसानहरू चैते धान रोपाईंमा आकर्षित भए पनि खडेरी परेका कारण किसान मारमा परेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयको भनाइ छ ।
बडभान क्षेत्र आफैँमा उर्वर र पानीको सुविधा भएकाले कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले बडभानमा चैते धान पकेट सञ्चालन गरेको जनाएको छ । किसानहरूले भने समयमै मलविउ र सिचाईं सुविधा नहुँदा चैते धान रोपाईंमा समस्या भएको बताउँदै आएका छन् ।
एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत रामपुर नगरले प्रदेश र संघसँग सहकार्य गरेर पकेट क्षेत्रहरू सञ्चालन गरिरहेको छ । नगरपालिकाले कृषक मैत्री वातावरण निर्माण गरेर अघि बढ्ने रणनीति लिए पनि त्यो सफल भएको देखिँदैन ।
विगतमा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको चैते धान खेती अहिले भने सिँचाईको पर्याप्त सुविधा भएको रामपुरैसँगै जिल्लाका सीमित स्थानमा मात्र खेती हुँदै आएको छ । प्रमुख खाद्यान्न बाली धानमा आत्मनिर्भर बनाउन चैते धानलाई पनि प्रवर्द्धन गर्न सकेमा आयतित खाद्यान्नलाई केही हदसम्म भए पनि रोक्न सकिने थियो ।
प्रतिक्रिया दिनुहोस्