
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बताइएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गर्नु भएको छ ।
कर्णाली प्रदेश सभामा ठूलो दल एमालेले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन यही चैत ५ गते फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।
माओवादी केन्द्रका नेता शाही संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सो समयसीमा आज सकिँदैछ ।
माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएपछि प्रदेशसभाको संख्या ३९ मा झरेको छ ।
हाल प्रदेशसभामा एमालेका सभामुखसहित २०, माओवादीका १२, कांग्रेसका छ र राप्रपाका एक सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्