
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाउनुभएको छ ।
शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरितका गतिविधि गर्ने काम भएको बताउनुभयो ।
प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरू आएकाले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गर्नुभयो ।
नेपालीहरूलाई राष्ट्रहित विरोधी षडयन्त्र स्वीकार नहुने पनि उहाँले बताउनुभयो । अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताउनुभयो ।
बिहीबार एक अनलाइनमा भारतको गुप्तचर निकाय रअका प्रमुख शामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भन्दै चारबुँदे सहमति पत्र बाहरिएको थियो । जसमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय अब नउठाउने र एमसीसीमा भारतले सहयोग गर्ने जस्ता विषय समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्