२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सीसीएमसीको सिफारिस


0
Shares

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सिफारिस गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश र स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिनुभयो । सिसिएसीले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले बारम्बार विद्यालय बन्द गर्न सरकारलाई अनुरोध गरेको थियो ।
विद्यालय बन्द भए पनि पठनपाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनु पर्नेछ ।

परीक्षाहरू पनि सुचारु हुनुपर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रस्ताव छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको थियो ।

मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

यसैबीच बैठकमा स्वास्थ्य सुरक्षाका नयाँ मापदण्डहरू बनाउने विषयमा पनि छलफल भएको छ ।