१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न


0
Shares

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन भएको छ । राजकुमार फिलिपको शवलाई विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमास्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ ।

कोरोना महामारीका कारण अन्तिम संस्कारमा सीमित व्यक्तिहरू मात्र सहभागी भएका थिए । अन्तिम संस्कारको विधि गरिएको बेला सेन्ट जोर्जेज् च्यापलको क्वाईरको अग्रभागमा महारानी एलिजाबेथ एक्लै बसेकी थिइन ।

उक्त समारोहमा डीन अफ विन्ड्सरले महारानीप्रति ड्यूक अफ एडिन्बराको अखण्ड निष्ठा, राष्ट्रप्रतिको सेवा र साहसप्रति सम्मान व्यक्त गरेका थिए । उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका प्रमुख सदस्यहरू शव पेटिका राखिएको ल्यान्ड रोभर कारको पछि पछि हिँडेका थिए ।

शवयात्रामा सहभागी नहुने राजपरिवारका सदस्यहरू विन्ड्सर कासलदेखि कार चढेर च्यापलसम्म पुगेका थिए । अन्तिम संस्कारका क्रममा बेलायतमा एक मिनेट मौनधारण गरिएको थियो । राजकुमार फिलिपको गत शुक्रवार ९९ वर्षको उमेरमा निधन भएको थियो ।