
सिमरा । हिमालयन शेर्पाविरुद्ध जित हात पार्दै आयोजक नवजनजागृती यूवा क्लब विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सिमराको जितमा अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे । हिमालयन शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल गरे ।
घरेलु दर्शकको समर्थन पाएको सिमरा विरुद्ध लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा क्वाटरफाइनलबाटै बाहिरीयो ।
तुलनात्मक रुपमा कमजोर सिमराविरुद्ध खेलको १९ औं मिनेटमा पूर्ण गुरुङको गोलमा हिमालयन शेर्पाले अग्रता बनाएको थियो ।
खेलमा १–० ले पछि परेको सिमराले आक्रामक खेल प्रस्तुत गर्दै पाँच मिनेट भित्रै हिमालयन शेर्पाविरुद्ध दुई गोल गरेर अग्रता बनायो ।
खेलको २४ औं मिनेटमा अफ्रिकी स्ट्राइकर लुइस बिडालले गोल गरे । लगतै २५ औं मिनेटमा डोना थापाले गोल गर्दै शेर्पालाई दबाबमा राख्यो ।
६३ औं मिनेटमा सिमराका सकल रेग्मीले गोल गर्दै सिमराको अग्रता फराकिलो पारे ।
लुइस बिडालको सुन्दर पासलाई डिबक्स बाहिरबाट सकलले गरेको पहिलो प्रहार हिमालयन शेर्पाका गोल रक्षक छिरिङ लामाले बचाएपनि सम्हाल्न नसक्दा रिवाउण्ड बललाई सकलले गोलमा परिणत गरे ।
अन्तिम समयमा सिमराविरुद्ध आक्रामक बनेको हिमालयन शेर्पाका लागि रवि रानाले ८८ औं मिनेटमा फ्रिकिक गोल गरे ।
हिमालयन शेर्पाका पूर्ण गुरुङलाई सिमराका अफ्रिकी खेलाडीले फाउल गरेपछि पाएको फ्रिकिकलाई झण्डै २५ यार्डबाट रविले गोलमा परिणत गरेपनि टिमको हार टार्न सकेनन् ।
दोश्रो हाफमा हिमालयन शेर्पाले बनाएका केहि राम्रा अवसर गोलमा परिणत हुन सकेन । ५४ औं मिनटमा हिमालयन शेर्पाका पूर्ण गुरुङको प्रहारलाई सिमराका डिफेण्डर रोहन तामाङ क्लिएर गरे ।
डिबक्स भित्र किपर समेत विट भइसकेको अवस्थामा गोललाइनबाट रोहनले बल क्लिएर गर्दै हिमालयन शेर्पालाई बराबरी गोल गर्नबाट रोके ।
६४ औं मिनटमा हिमालयन शेर्पाले अर्को सुन्दर अवसर गुमायो । पूर्ण गुरुङको क्रसपासमा कमल थापा मगरले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहार सिमराका गोलरक्षक सुवास बलले उत्कृष्ट बचाउ गरे ।
८९ औं मिनटमा कैलाश बस्नेतको प्रहार पोष्ट नजिकबाट बाहिरीयो त्यस लगतै खेलको ९० औं मिनटमा हिमालयन शेर्पाले पाएको अर्को अवसरपनि खेर गयो ।
डिबक्स भित्रैबाट वर्तमान राईले गरेको सशक्त प्रहार सिमराका गोलरक्षकले बचाए ।
खेलको म्यान अफ दि म्याच सिमराका गोलरक्षक सुवास बल घोषित भए । उनले पाँचहजार नगद र ट्रफि प्राप्त गरे ।
आइतबार हुने दोश्रो क्वाटरफाइनलमा त्रिभूवन आर्मी क्लबले अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनको सामना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्