
काठमाडौं । राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री रामबहादुर थापामगरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्त गर्नुभएको छ ।
संघीय संसद्ले थापामगरको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आज स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उहाँलाई आजै पुनः नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार उहाँले आज साँझ ५ बजे पुनः गृहमन्त्रीमा शपथ लिंदै हुनुहुन्छ ।
थापामगर माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।
माओवादी केन्द्रको संसदीय दल बैठकले थापामगरले दल त्याग गरेको भन्दै उहाँको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।
नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाउनुभएको थियो ।
यसअघि एमाले अध्यक्ष ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज गरिएको थियो ।
मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीले सांसदसमेत नरहने गरी निश्काशन गरेपछि प्रधानमन्त्री ओलीले सबैलाई फेरि ६ महिनाका लागि मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
२०७४ मा राष्ट्रिय सभा सदस्य बन्नुभएका थापामगरको कार्यकाल चिठ्ठा तान्दा ६ वर्षको परे पनि ओलीतिर लागेकामा पार्टीले कारबाही गरेसँगै राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको हो ।
रिक्त राष्ट्रिय सभा सदस्यका लागि फेरि निर्वाचन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्