
काठमाडौं । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले दोस्रो सहज जित निकालेको छ । साेमबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ४१ बलको सामना गर्दै पाँच छक्का र तीन चौकासहित नटआउट ६१ रन बनाए ।
यस्तै, आशिफ शेख ४२ रनमा आउट हुँदा, दीपेन्द्रसिंह ऐरीले नटआउट ६ रन बनाए । भुर्तेल र शेखले १ सय २ रनको पार्टनरसीप खेले ।
बलिङतर्फ मलेसियाका भिरान्दीप सिंहले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो । उसका लागि सेद अजिजले २७, सार्भिन मुनिएन्डीले २० र साफिक सारिफले १५ रन बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले समान एक–एक विकेट लिए । जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै अंकतालिकको शीर्ष स्थानमा छ ।
यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दा आइतबार नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । डबल राउण्ड रोबिनको आधारमा भएको प्रतिस्पर्धामा अंकतालिकाका शीर्ष दुई टोलीले आगामी शनिबार फाइनल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्