
काठमाडौं । उपचार गरिरहेको एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।
गत आइतबार अस्पतालमा भर्ना भएकी ती महिलामा उपचारपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएकोे हो ।
अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सक ती महिलाको सम्पर्कमा आएकाकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने डा यादवको भनाइ छ ।
सिरहाका सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइका लागि सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको छ । हालसम्म सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्