
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको छ ।
सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्थालाई सेवा प्रवाह गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाहरू यथा सम्भव विद्युतीय माध्यमबाट गर्न तथा गराउन केन्द्रीय बैंकले सुझाव दिएको छ ।
बैंकहरूले आफ्ना एटीएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यू पेपरको व्यवस्था गर्न पनि भनिएको छ ।
कैंकहरूले कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड–१९ सुरक्षा व्यवस्थापन समूहलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने छ ।
स्वास्थ्य सतर्कताबारे यसअघि दिएका निर्देशनलाई समेत पालना गर्न पनि केन्द्रीय बैंकले ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्