
दिवस रिजाल
खोटाङ । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकको घुर्मी, वेतेनी र पट्नाभञ्ज्याङ सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको हो ।
बन्दका कारण ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट आएका सवारीसाधनहरू कटारीको उत्तरपश्चिमी बजार घुर्मीमा रोकिएका छन् । खोटाङबाट तराईका लागि हिँडेका यात्रुवाहक बस तथा मालवाहक ट्रक बीच बाटोमै रोकिएपछि यात्रुहरू अलपत्र परेका छन् ।
उदयपुरका स्थानीयले कटारी नगरपालिका–११ का वडा अध्यक्ष दिपक बुढाक्षेत्रीको अध्यक्षतामा एक संघर्ष समिति नै बनाएर यसअघि नै सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो ।
यसैबाटोलाई लिएर खोटाङ, उदयपुर, सोलखुम्बु र ओखलढुङ्गाका उद्योग वाणिज्य संघले गत चैत्र ३१ गते ज्ञापन पत्र बुझाएका थिए । संघर्ष समिति र वाणिज्य संघले बुझाएको ज्ञापनपत्रको सुनुवाइ नभएपछि सडक बन्द गर्न बाध्य भएको उदयपुर वाणिज्य संघका अध्यक्ष पुस्कर खड्काले जानकारी दिनुभयो ।
कटारी–घुम ४७ किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न आर्थिक वर्ष २०७८ र ७९ को लागि विनियोजन हुने बजेटमा बजेटको सुनिश्चितता हुनुपर्ने मुख्य माग संघर्ष समितिले राखेको छ । त्यस्तै घुर्मी–कटारी–मिर्चैया सडकखण्ड हेर्ने छुट्टै कार्यालयको स्थापना हुनुपर्ने तथा सडकको स्तरोन्नतिका लागि तत्काल डिपीआरको व्यवस्था गर्नुपर्ने मागसहित सडक खण्ड बन्द गरिएको हो ।
यस सडकखण्डमा वर्षौंअघि गरिएको ओटासिल भत्किएको अढाइ दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । यात्रु तथा स्थानीय वर्षायाममा हिलो र हिउँदमा धुलोले आजित हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्