
डीबी विष्ट
बझाङ । चैत १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपिडी पुगिन् । चाँज गर्दा उनको पेटमा ४ महिनाको गर्भ देखियो । स्वास्थ्यकर्मीले श्रीमान्को बारेमा सोध्दा विवाह नभएको बताउने उनी गर्भ बसेको जानकारी पाउँदा अलमलमा परिन् । आफ्नो पेटमा बच्चा हुनै नसक्ने जिद्दी गरेकी किशोरीलाई स्वास्थ्यकर्मीले भिडियो एक्सरे देखाएपछि भने छिमेकी गाँउको केटासँग असुरक्षित यौनसम्पर्क भएको स्वीकारिन् ।
चैतको पहिलो हप्ता १६ वर्षीया किशोरी ग्याट्रिक भएको भन्दै जिल्लाको निजी मेडिकल पुगिन् । किशोरीकै भनाइको आधारमा मेडिकल सञ्चालकले औषधि दिए । औषधिले सञ्चो नभएपछि जिल्ला अस्पताल पुगेकी उनलाई स्वास्थ्यकर्मीले ७ महिनाको गर्भ रहेको बताए । सुरुमा अलमलिएकी उनले गर्भ फालिदिन आग्रह गरिन् तर डाक्टरले उनलाई सम्झाउँदै पठाए ।
चैत अन्तिममा १८ वर्षीया अविवाहीत किशोरी रक्तश्राव भएको अवस्थामा जिल्ला अस्पतालको आकस्मिक कक्षमा पुगिन् । जाँच गर्दा उनले गर्भपतन गराउने औषधि प्रयोग गरी ४ महिनाको गर्भपतन गराएको पत्ता लाग्यो । उमेर नपुग्दै गर्भपतन गराएका कारण किशोरीको रक्तश्राव भएको थियो । स्वास्थ्यकर्मीले मेसिन पाठेघर सफा गरी उनको ज्यान बचाए ।
बझाङको जिल्ला अस्पतालमा आउने यी प्रतिनिधि घटना मात्र हुन् । अस्पतालमा दैनिक ५–६ जनासम्म विवाहित र अविवाहित किशोरी गर्भपतन गराउन आउने गरेका अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा उमेर नपुग्दै गरिने गर्भपतनको दर अत्यधिक बढेकोमा स्वास्थ्यकर्मी चिन्तित छन् । सुरक्षित यौन सम्पर्कका बारेमा राम्रो ज्ञान नहुनु, निजी मेडीकलहरूमा सहजै गर्भपतन गराउने औषधि पाइनु लगायतका विभिन्न कारणले यो दर बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्ला अस्पतालमा कार्यरत अनमी सुनिता उपाध्यायका अनुसार उमेर नपुग्दै गर्भपतन गराउनेको दर डरलाग्दो भएको बताउनुहुन्छ । निजी मेडिकल तथा औषधि पसलमा गर्भपतन गराउने औषधि खाएर आउनेहरूको संख्या झन् भयानक भएको उनको भनाइ छ । कतिपय महिलाहरू अन्तिम सास लिएर अस्पताल आउने गरेको उनी बताउछिन् ।
गर्भपतन गराउने औषधि किन्न आउने अधिकांश किशोर र पुरुष भएको मेडिकल सञ्चालक अशोक मल्ल बताउछन् । किशोरी तथा विवाहित महिलाहरू पनि आउने गरे पनि किशोर र पुरुषको तुलनामा कमै मात्र आउने गरेको उनको भनाइ छ ।
किशोर–किशोरीहरूलाई यौन शिक्षासम्बन्धी ज्ञानको कमिका कारण जिल्लामा असुरक्षित यौन सम्पर्क र उमेर नपुगी गरिने गर्भपतनको संख्या बढ्दै गएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन खड्का बताउनुहुन्छ । किशोरीहरू गर्भपतन गराउने औषधि प्रयोग गरेर उपाय नलागेपछि अन्तिम समयमा मात्र अस्पताल आउने गरेको गरेको उहाँको भनाइ छ ।
बढ्दो प्रविधिको दुरुपयोगका कारण पनि किशोरकिशोरीहरू असुरक्षित यौन सम्पर्क र गर्भपतनमा सक्रिय भएकाले अभिभावकहरूले छोराछोरीको विशेष ख्याल गर्नुपर्ने डाक्टर खड्का बताउनुहुन्छ । ‘जिल्ला अस्पतालमा १२ हप्ता सम्मको गर्भ मात्र गर्भपतन गराउन नेपाल सरकारले अनुमति दिएको छ,’ डाक्टर खड्काले भन्नुभयो, ‘तर यहाँ मेडिकलमा औषधि खाएर ५–६ महिनासम्मको गर्भपतन गराउन आउँछन्, मर्नै लागेँ भनेर आएपछि उपचार गर्नैपर्यो ।’
लाजका कारण कतिपय किशोरी एवं महिलाहरूको औषधि उपचार नगराउँदा ग्रामीण बस्तीमै ज्यान गएको हुनसक्ने डा. खड्काको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्