१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलित कोखको जन्म अभिशाप नै हो त ?


143
Shares

संजिव कार्की

यो धर्तीमा अरु मानव जुनजुन प्रक्रिया पुरा गरेर आए म पनि तत् तत् प्रक्रिया पुरा गरेर नै जन्म लिएर आएको हू l मैले मेरो रोजाईले कसैको सहवास ,कोख ,जात धर्म,भूगोल र रंग छानेको होइन l तर म मान्छे अवतारमा अवतरण गरेर पनि मान्छेको दर्जामा नपुग्ने हैसियत भएको समाजको सदस्य भए l कहाँ जन्मनु पर्छ मेरो न आग्रह थियो न पूर्वाग्रह तर म जन्मिए जैविक प्रक्रियाबाट नै l आकास धर्ति कतैबाट हैन म मेरा बाबाको लिंग हुदै आमाको कोखमा बसेर योनीद्वारबाट नै जन्मेको हु तर म अर्कै ग्रह र नक्षत्रको मान्छे झैँ भएको छु l मेरा पनि हात पाउ र शारीरिक वनावट अरुको जस्तै छ l कुनै छुट्टै रंग शारीरिक वनावट दृश्य र बोली भएको मान्छे म हैन l चेतना पनि कुनै सर्वश्रेष्ठ मान्छे बराबर नै लाग्छ तथापि मैले छोएको पानी चल्दैन l मेरो जात मान्छे हो तर म कुकुरको भन्दा पनि गए गुज्रेको जिन्दगी ज्युन बाध्य छु l

मलाई म जस्तै मान्छेको पालीले पानि पर्दा ओत दिदैंन म रुझ्नु पर्छ , तर एउटा कुकुर मान्छेको बेडरुम पाटनर बनेर बस्ने सौभाग्य पाउछ ? कस्तो बिडम्बना तब म कसरी मान्छे भए ? सार्वजनिक धारा कुवा र इनारमा पानी छोएको निहुमा मैले पिटिनु पर्छ मेरा कति आफन्त यसैको कारण मारिएका छन l प्रताडित छन l मन्दिरका द्वार हाम्रा लागि खुल्ला छैनन् , भगवानको घरमा समेत उनकै सन्तानलाई बर्जित र निषेधित गरिन्छ भने मेरा लागि भगवान कहाँ छन् ? किन यति घटीया ब्यबहार गर्दा पनि चुप छन् भगवान ? खै भगवानले न्याय दिएको ? मेरा छोरी, बुहारी, बैनी, श्रीमती र चेलीहरु बलात्कृत हुँदा राज्यलाई जति दुख्नु पर्ने हो त्यति दुख्दैन किन ? दलित हुनु अभिशाप र अपराध हो ? मेरो भाइ छोरो गैर दलितसँग प्रेममा परेको कारण मारिन्छ ? खै कहाँ छ सामाजिक न्याय ? आधुनिक भगवान भनेको देशको न्याय कानुन र राज्य प्रणाली होइन र ? नबोल्ने भगवानको खप्परमा सबै दोष खन्याएर चुप र मौन कतिन्जेल बस्न सक्छौ हामी ?

व्यक्तिको घरमा बन्देज गरे अनौठो भएन तर प्रकृति प्रदत्त सार्वजनिक स्थलमा समेत समान उपभोग गर्ने मेरो स्वतन्त्रता हनन् छ मलाई मेरो स्वतन्त्रता म जस्तै मान्छेले हनन गरेका छन् l मैले तिर्खा लाग्दा पानी खानु पर्यो भने पनि पंधेरोमा हत्तपत्त पालो पाउदिन l मैले मुर्ति बनाएको मन्दिर र गजुर हालेको आस्थाको केन्द्र समेत मेरो लागि बर्जित छ l आखिर ऊ पनि मान्छे , म पनि मान्छे तर उसले मलाई मान्छेको ब्यबहार गर्दैन भने , मैले उसलाई मान्छे कसरी भनौ ? जसरी उसले छुँदा पानीमा कुनै पनि केमिकल रियाक्ट गरेर विषाक्त बन्दैन त्यसै गरि मैले छुदा पानीमा कुनै परिवर्तन आउदैन तर पनि मैले छोएको पानी आज पनि बिटुलो मानिन्छ म अछुत छु l अब छुत कहिले बन्ने ? मैले छूत हुन सबै झैँ बराबर देखिन देशमा कुन परिवर्तन र कानुनको सिर्जना हुन बाँकी छ म त्यो जान्न चाहन्छु l हाम्रो गणतान्त्रिक संविधान संसारकै प्रगतिशील र प्रगतिवादी संविधानमा दरपिठ भएको भनिन्छ l अग्रगामी, प्रगतिशील भनेर विश्वले प्रसंशा गरेको पाइन्छ तर मेरो लागि यो संविधानले अक्षरमा समानता लेखेको बाहेक व्यवहारमा समानता छैन l आज पनि छुट्टै पानी पँधेरोमा मैले पानी भर्नुपर्छ l

हो मलाई पनि थाहा छ संसार एकाएक परिवर्तन भएको छैन रंगभेद हटाउन दक्षिण अफ्रिकामा नेल्सन मन्डेला २७ वर्ष जेलको पाहुना बने l दासदासी प्रथा एवं कमारा कमारी उन्मुलन गर्न १६औ अमेरिकी रास्ट्रपति अब्राहम लिंकन १८६३मा मात्रै सफल भएका थिए l त्यो समय व्यतित भएर पनि संसार कहाँबाट कहाँ पुगिसक्यो हामीले पनि राजनीतिक फड्को मारेर यहाँ आइसक्यौ l राजा महेन्द्रले संशाेधन गरेको मुलुकी ऐन २०२० लागु भएको ५८ वर्ष पछि नयाँ नेपालको नयाँ मुलुकी ऐन लागु भैसक्यो अझ त्यो भन्दा पहिले नेपालको संविधान २०७२ मा निम्न लिखित प्रावधान उल्लेख छ l

संविधानको भाग ३, धारा–१६, उपधारा १ देखि नै दलित विभेद मुक्तिको कुरा आकर्षित हुन थाल्दछ ।
त्यस्तै धारा १७ को उपधारा २ को (च) समेल दलित विषयमा उल्लेख छ, भने – धारा १८ को समानताको हक शीर्षकमा उपधारा १ मा “सबै मानिस कानुनको दृष्टीमा समान हुनेछन । भनिएको छ ” भने उपधारा २ मा “सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिंग शारिरिक अवस्था अपाङ्गता ………. आदि कुनै आधारमा भेदभाव गरिने छैन” भनिएको छ । यस्तो संवैधानिक बन्दोबस्त भएर पनि दलितको स्वाभिमान र स्वतन्त्रतामा सामाजिक ब्यबहार र कानुन बाधक बनेको छ l

 हिजो राजा महाराजा भएको कारण सब विकृति भएकोले यसलाई फालौ भनेर राजतन्त्र फाल्न ज्यान फाल्ने हिम्मत गरे म जस्ता अछूत र सीमान्तकृत मान्छेले पनि l सीमान्तकृत दलित र जनजातिको ठूलो संख्याको बलिदानीमा गणतन्त्रको वृक्ष सिंचित भएको हो l मेरो समुदायको रगतले सिंचित भएको गणतन्त्ररुपी वृक्षले मलाई शितलता दिन किन कन्जुस्याइ गर्छ ? राजतन्त्र को अवसान भएको दुई दर्जन वर्षपछि पनि विभेद फलिएन त्यो सोच हराएन, त्यो सामन्ति पुरातनवादी संस्कृति चिहानमा गएन ? आम मान्छेले छूत र अछुत भनेर गर्ने ब्यबहारमा परिवर्तन आएन l देसको राजधानी जस्तो ठाउँमा सांसद, न्यायाधिस समेत दलित भएको कारण डेरा पाउनबाट बन्चित छन l एक बर्ष अलि अघि स्नातकोत्तर तहकी बिद्यार्थी दीपा नेपाली र केही महिना अघि अर्की कानुनकी  बिद्यार्थी  करुणा विकले जातको कारण कोठा नपाएको र पाएको कोठा छोड्न बाध्य बनाईको घटना काठमाण्डौ सहरको हो l के यो सहरमा आधुनिकता फेसन सो र खानपानमा मात्र हो ? मानवीय सभ्यता निर्माण गर्न र सभ्यताको मानक स्थापना गर्न हुन सक्तैन ? डेरा बस्न अझै जात ढाट्न पर्ने र कथं कदाचित तल्लो जात भनेर थाहा पाएमा अपमानित हुनुपर्ने र कोठा छाड्नुपर्ने अवस्था के मानवीय संवेदना दुख्ने घटना र परिस्थिति होइन ?

अब म मान्छे बन्ने कानुन खोज्न कहाँ जाऊ  ? कहिले अरु जस्तै मान्छे बन्ने ? मान्छेको ट्याग भिरेर पनि मलाई मान्छे नदेख्ने मान्छे नभएका हुन कि म मान्छे हुन नसकेको हुँ ? भगवान छन र न्याय गर्छन भने म जस्ता दलित भनिएकाहरुको मान्छे हुने हक कहिले कायम हुन्छ त्यो सोध्न चाहन्छु ? भगवान हामी दलित, मान्छे कहिले हुने ?  आजको एक्काईसौ सताब्दिमा मान्छे नै भगवान हो भनेर प्रशिक्षित गर्ने र प्रवचन दिने कमरेडहरु , द्वन्दात्मक भौतिकवाद्लाई आफ्नो अभिस्ट र आदर्श सम्झनेहरु यतिबेला देसको राजकीय सत्तामा छन् यो बेला पनि देशमा मान्छे जातको आधारमा छुवाछुत, विभेद र असमानतामा रहन्छन भने अब प्रश्न गर्न र समान अधिकार प्राप्त गर्न यो भन्दा रोज्जा अवसर अरु आउँछ र ? 

सरकार देसमा अब दैवी शासन हैन कानुनी शासनको सुरुवात गर अन्यथा देस फेरि पनि द्वन्दको चपेटामा जान सक्छ तीन करोड नेपाली मध्ये १३ प्रतिशत जनसंख्या आज पनि मान्छे नहुनुको पिडा दुखेर बाँचेका छन यसरी आफ्नै मुलुकमा मान्छे बन्न नसकेको दुखाई कतिन्जेल खपेर बस्न सकिन्छ ? दलितको सहन गर्ने बुता सकिएको दिन यो समाजमा हुने बिद्रोह र विप्लव धान्ने क्षमता राज्यसँग बाँकी रहला र ? जनावर ,पशुपंक्षी र अन्य प्राणीमा समेत देखिने मानवता हाम्रा लागि अर्थात् दलितका लागि किन समान हुन सकेन ? यत्रो परिवर्तन र राज्य व्यवस्थाको फेर बदल पछि पनि समानताको अनुभूति र अनुभव गर्न नपाउनु कति न्यायोचित हो ? न्याय , समानता र प्रगतिशील आदर्श बोक्नेले अब पनि यसको जबाफ नदिने हो भने न्यायको लागि बोलिने आवाज केवल समर्थन लिन र स्वार्थ पुरा गर्न मात्रै हो समानता बाँडन होइन भनेर बुझ्नुपर्ने हुन्छ l

संसारमा सबै मान्छे धनी छैनन् हुदैनन् त्यो सहन सकिन्छ l धनी र गरीबको बर्ग भेद सबै जात र समुदायको साझा समस्या हो  तर मान्छे, मान्छे बीच जातीय भेद र छुवाछुत अब कुनै पनि हालतमा र कुनै पनि मानेमा सहन गर्न सकिने र चुप लागेर बस्ने विषय होइन / छैन l देशमा जातीय विभेद हुँदा त्यसको जिम्वेवारी सरकारले लिनुपर्छ l सरकारका निकायहरुले लिनुपर्छ l मानवता विरोधी र मानवधिकार उल्लघ‌नकाे मुद्दा अब सम्बन्धित स्थानीय सरकारको टाउकोमा हुनुपर्छ l आफ्नो निकायको प्रभावक्षेत्र र अधिनस्त सिमा भित्र भएको जातीय विभेदको घटनाको जिम्बेवार सम्बन्धित क्षेत्रको जनप्रतिनिधिको हुनुपर्छ तब मात्र जनप्रतिनिधि भेदभावको मामलामा सचेत बन्नेछन र न्यायको समानुभुति प्राप्त हुनेछ l कामहरु चाहे त्यो सिदा टपरी बटुल्ने होस या सफाई गर्ने या होस् घन ठोक्ने या सलाम ठोक्ने सबै काम सुकामको दर्जामा दरिनु पर्छ l

विष्णु बहादुर विश्वकर्माको घन  र बैकुण्ठ बाजेको भागवत गीताको  नैतिक र सामाजिक अनि आर्थिक मूल्य बराबर हुनुपर्छ l परापूर्वकालदेखि नै श्रम शिप , कला र साधनाले भरिपूर्ण मेरो समुदाय आज कला सीप र साधनाले उद्योग र कारखाना हुने अवसर पाउँदा पनि मेरो समुदाय त्यो उद्योग र कल कारखानाको मालिक हुनबाट चुकेको र चुकाइएको व्यथाले पनि म आहत छु l दुखी छु , प्रताडित छु l मैले गरेको पेशा जसलाई मैले र मेरो समुदायले पनि अपमानको पेशा ठान्यो अब दमाईले लुगा सिउने हैन भनियो, कामीले कोदालो बनाउने हैन भनियो, सार्कीले जुत्ता सिलाउन छोड्ने भनियो, सुनारले सुन बनाउँदा जात घटेको अपमान गरियो तब देश औधोगीकिकरण भएको बेला मेरो समुदायको पेशा ब्यबसाय अर्कैले आफ्नो बनायो त्यसैले सहरको प्रतिष्ठित टेलरिंगको मालिक दमाइ बन्न सकेन । छाला जुत्ता कारखानाको मालिक सार्की भएन । फलाम रड र स्टिल कारखानाको मालिक कामी हुन् सकेन l सफाइ मजदुरी गर्न छोडेकोले सफाइ मजदूरको आकर्षक ज्याला आज अर्कैको हातमा छ l हामीले अधिकार खोज्ने नाउमा आफ्नो जातीय पेसाको आधुनिकिकरण , ब्यबसायीकरण र बजारीकरण गर्न सकेनौ अवसर अरुले नै लिए l

कम्तीमा आफ्नो पैतृक पेशा नछोडेर अधिकारको लडाई लडिएको भए थोरै भए पनि मेरो समुदायका मान्छेको ठुल-ठुला प्रतिष्ठित कल कारखाना हुन्थ्यो l अधिकार प्राप्तीको लडाई भनेर आफ्नो मौलिक सीप र कला आज आफ्नो बन्न सकेन l दमाईको छोरालाई कपडा सिलाउन लाज हीनताबोध भयो l मलाई यतिबेला त्यो जातीय अधिकारकर्मिको मुर्खता र अज्ञानताको शिकार आफू हुनु परेकोमा रोष पनि छ l आफ्नो जातीय कर्म गरेर नै यसलाई आधुनिकीकरण गरेर प्रतिस्थापित गर्दै ब्यबसायी बन्न सिकाउनु पर्नेमा अझ हामी कतिन्जेल यस्तो हेयको पेसा गर्ने भनेर पेसाबाट पलायन र बिस्थापित गराउने अधिकारकर्मीलाई सम्झेर चित्त दुखेको छ l आज न आफ्नो पैतृक सीप छ न कुनै नविन पेशा र आम्दानीको स्रोत ?  अधिकार भनेर आफ्नो सीप हापियो तर अहिले न यताको न उताको स्थितिमा पुगियो l

बुझेर नेतृत्व लिने र जागरुक बनाउने असल अभियन्ताको अभावमा आज हामी पलायन छौ l आफ्नो पेशालाई हेला गरियो तर आज त्यही पेसा अरु जात र समुदायको समृद्धिकाे आधार र उन्नतिको श्रोत भएको छ l त्यसैले अब थाह भयो पेशा पनि हेयको विषय रहेन आजको विश्वमा l मान्छेको जात पनि मान्छे नै हो छूत अछूत मान्छेले बनाएको भ्रम हो l अब भ्रम तोडेर सबै मान्छे एकै हुन भनेर नमान्ने किन ? कुन अछूतको रगत छूतको शरीरमा रक्त अभाव हुदाँ मेल नखाएको छ र ? पृथ्वी हाम्रो साझा घर हो यहाँ एकले अर्कोलाई नछोएको र नछुइन असम्भव छ त्यसैले यो वास्तविकता स्वीकार गर्न किन अप्ठ्यारो ? पृथ्वीमा बसेर एक मानवले अर्को मानवलाई नछोएको भ्रम पाल्नु भन्दा बेबकुफ र  पागलपन अरु हुन सक्तैन सबै मानव एक अर्काका पर्याय हुन l आवश्यकता एकको अर्कोमा जरुर कहीँ न कहीँ पर्छ , देखिन्छ अत : छूत र अछूतको बारना गैर न्यायिक छ l अमर्यादित छ l मानवअधिकारको खिलाफमा छ l

हामी कला सीप श्रम र पेशाको कारण अवहेलाना घृणा  होइन मर्यादामा बाच्न सिक्ने सीपको अभावले पछि परेको तथ्य बिर्सन सक्दैनौ l लहैलह र भुल भुलैयामा परेर जातीय सीपलाई छोड्ने छोडाउने जुन प्रपन्च गरियो त्यसको फाइदा अरुले नै उठाए l दलित अधिकार र आन्दोलनको नाममा पेशा छोडेर छोडाएर हाम्रो स्वाभिमानी कर्म दिग्भ्रमित बनाइएको छ l  जसको समीक्षा दलित आन्दोलनले गर्नै पर्छ l पहाडमा पाँच भन्दा बढी  र तराइमा २० को हाराहारी  दलितका थर भएका समुदायले क्रमशः आफ्नो पेशाबाट पलायन रोजेका छन् l दलितले पेशा छोडे पनि अरुले त्यो पेशा अपनाए त्यसको फाइदा गैर दलितले लिए l आखिर पेसा जसले छोडे पनि लुगा सिलाउने काम बन्द हुन सक्तैनथ्यो भएन l

बिभिन्न औजार बनाउने कारखाना खुले , गीत संगीत ठूलाठूला जातजातिकाले गाए आज सम्मानित जीवन र आकर्षक आर्थिक अवस्था छ l सफाइ कर्म जसरी पनि गर्नुपर्ने हुन्छ त्यो हामीले छोडे पनि अरुले गरेका छन्  l सिनो फाल्ने काम हामीले गर्दैनौ र गर्नु हुदैन भनियो तर अर्को समुदायले आकर्षक पेमेन्ट लिएर त्यो कर्म गर्यो हामी हेरेका हेरैकै भयौ l गडीमाइ मेला कै उदाहरण हेरौ l त्यहाँ त्यो फोहोर सफाई गर्नु पर्ने थियो गरियो हाम्रो समुदाय त्यो सफाई नगर्ने भनेर बहिस्कार गर्न पुग्यौ तर सफाई कर्म रोकिएन बरु राम्रो पारिश्रमिक मागेको भए केही छाक भए पनि राम्रोसँग टर्थ्यो यी र यस्ता यावत कुरामा पुनरावलोकन गरेर हाम्रो निर्णय र अभियान अनि आन्दोलनको परिस्कार र परिमार्जन आवश्यक छ l पेशाबाट पलायन भएर होइन पेशा कायम नै राखेर रचनात्मक र सिर्जनात्मक अभियान , पेसा व्यावसायको आधुनिकीकरण आजको खाँचो हो l जे गरियो त्यो पुनर्मुल्यांकन गर्न अब ढिला गर्नु हुन्न किनभने नाङ्गो आङ्ग ढाक्ने , लाज बचाउने तातो न्यानो राख्ने कपडा सिलाउनु कुनै अपराध कर्म र हेयको काम होइन l देवताको मन्दिर देखि मुर्ति हुदै गजुर बनाउने कर्म कसरी हेलाको पेशा हुन सक्छ ? मान्छेका कोमल पाउमा काँढा नबिजोस भनेर जुत्ता सिलाई दिनु कसरी अछुत कर्म भयो ? दुर्गन्ध र फोहोर सफा गरेर सभ्यता र सफाईको कर्म कसरी असभ्य र अछुत बन्छ ? हामी मानसिकताले छूत अछूत बनेका छौ हाम्रो जैविक प्रक्रियामा कही कतै खोट छैन शरीर उस्तै, रगत उस्तै, पसिना मन, मुटु उस्तै उस्तै, तर मान्छे किन छूत र अछूत ?

हाम्रो सरकार बने पछि जातभात छुवाछूत पानी काढाकाढ बन्द हुन्छ भन्ने पार्टीले चुनाव जितेर सरकार बनाएको समयमा नवराज विक लगायत छ जना होनहार छोराहरु अन्तरजातीय प्रेम गरेको कारण भेरीमा जिउदै फालिए l म जस्ता दलित र तल्लो जातका भनिएकाहरुको दुख अभाव पिडा र सामाजिक उत्पीडन आज पनि उस्तै छ , जस्तो हिजो थियो l अब पनि देशका जनता  रैती र नागरिकको भेदमा कतिन्जेल बस्ने नागरिकको दर्जा एकै होइन र हामी मान्छे अब कहिले बन्न पाउछौ सरकार ? हामीलाई पनि मान्छे हुने कानुन र सरकार चाहिन्छ l मानवतावाद भित्र पहिलो र दोश्रो दर्जाको नागरिक भेद हुन्न l गलत चिन्तन , परम्परा सोच र कृत्रिम ब्यबहार सच्याउनु र सच्चिनु अत्यन्त जरुरि छ l हामी दलित भित्र रहेको परस्परको छुवाछुतको अन्त्यको लागि सुरुवात आफैबाट भन्ने भनाइ मनन गरेर ब्यबहारमा उतार्न सकिएन भने अरुले गर्ने विभेद रोक्न मुश्किल हुन्छ तसर्थ आफै भित्र क्रान्ति गर्नुपर्ने चेतबाट मलाई भाग्ने छूट छैन l भगवान म मान्छे बन्ने कहिले ? मेरो जन्म अवसर र वरदान हो,अभिशाप होइन l न्यायको ढोकाबाट धोका पाइयो भने त्यो ढोका फुटालेर भित्र पस्ने र बस्ने हक प्राकृतिक न्यायको हक हो l दलित कोखमा जन्मनु अभिशाप नै हो त ? हाम्रो जन्म अभिशाप हो भने राज्यले बेलैमा सोचोस् l शहनुको सिमा कटेपछि उत्पन्न हुने रोष विद्रोह आवेग र न्यायको आवाजले बिस्फोटको रुप लिदा त्यसको चपेटामा को को पर्छन त्यो हेक्का राख्ने जिम्मा राज्यको हो l

(स्तम्भकार संजिव कार्की- विगत लामो समयदेखि जातीय विभेदको बिरुद्द निरन्तर कलम चलाउदै आएका अभियानकर्मी हुन्  l)