१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा वैशाख २ र ३ गते परेको असिनाबाट ४८ करोडको क्षति


0
Shares

विकास घिमिरे
धनकुटा । वैशाख २ र ३ गते परेको असिनाबाट धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ४८ करोड मूल्य बराबरको तरकारी, फलफुल नष्ट भएको छ ।

गाउँपालिकाको कृषि शाखाले गरेको अनुगमन तथा सार्वजनिक सूचनामार्फत संकलन गरेको विवरणअनुसार पालिकाको २, ५ र ६ नम्बर वडामा लगाइएको सबै बाली र अन्य तीनवटा वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी वडा नम्बर ६ मा २० करोड भन्दा बढीको तरकारी तथा अन्य बालीहरूमा क्षति पुग्दा वडा नम्बर ५ मा १३ करोड र वडा नम्बर २ मा ११ करोड बराबरको क्षति भएको छ ।

पालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति बिवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेश गरेको र बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ, प्रदेश र सम्बन्धित निकायहरूमा पहल गर्ने निर्णय गरेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

प्रारम्भिक अबस्थामा ३५ करोड मूल्य बराबरको तरकारी, फलफुल नष्ट भएको अनुमान गरिएको थियो ।