
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरू कमजोर हुँदै गएको बताउनुभएको छ । पुनर्निर्मित धरहराको उद्घाटन गर्दै उहाँले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरू कमजोर हुँदै गएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरू दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरू कमजोर हुँदै गएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले धरहरा पूनर्निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रूपमा उभ्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रधानमन्त्री ओलीले महाभूकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचना भित्र कामगर्न पाउने गरी प्रति परिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । उहाँले आफूलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादन आफैँले गर्नुपर्ने र आयातमुखी नभइ उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो ।
सरकारले २०७८ सालभित्र काठमाडौंको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याउनुभयो । उहाँले ३९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाडौ आएको, तराईमा सिँचाइका काम लगायत विकास निर्माणका कामहरु भइरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रूपमा बनाउन लागियो भन्ने भ्रममा नपर्न आग्रह गदै सबैको साझा विश्रामस्थलको रूपमा धरहरालाई कायम राखिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्