१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाल सुपर लिग : उद्घाटन खेलमा काठमाडौं रेजर्सको विजयी सुरुवात


0
Shares

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एन.एस.एल.’ मा काठमाडौं रेजर्स फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर सिटी फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । काठमााडैंका लागि मिसुकेले ६६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

दुवै टिमले गोल गर्ने दर्जन बढी अवसर गुमाएका थिए । ललितपुरले अन्तिम समयमा लगातार दबाबमा राख्न सफल भए पनि गोल भने गर्न सकेन । काठमाडौंका संजोग राई सुपर प्लेयर अफ द म्याच हुँदै २५ हजार रुपैयाँ पाएका छन् ।

सात फ्रेन्चाइज टिमको सहभागीता रहेको प्रतियोगितामा आइतबारबाट हरेक दिन दुई खेल हुनेछन् । कोरोना भाइरसको महामारीका कारण खेलहरु बिना दर्शक हुने छन् । विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ जित्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

राउन्ड रोबिनको आधारमा जेठ १ गतेसम्म हुने लिगमा काठमाडौं र ललितपुरसहित विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।