
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकालगायत नेपालगञ्ज, वीरगञ्जलगायतका जिल्लामा रहेका अस्पतालमा शैया अभाव हुन थालेको छ ।
दैनिक संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा शैया अभाव हुन थालेको हो । अस्पतालहरुमा पर्याप्त अक्सिजनको समेत अभाव हुन थालेको छ ।
यही वैशाख ३ गते ९ सय संक्रमित भेटिएकोमा हिजोसम्म करिब तीनगुणा २६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डबल भेरियन्ट रहेकोले संक्रमण सार्न सक्ने अत्यधिक क्षमता छ ।
अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा संक्रमण सार्न सक्छ ।
भाइरसले संक्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको रहेको चिकित्सकहरु बताउँछन् ।
अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी संक्रमण देखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ सय ३६ पुगेको छ ।
भारतमा संक्रमणको अबस्था नियन्त्रण बाहिर गएको र त्यहांबाट निर्वाध रुपमा मानिसहरु आइरहेको अबस्थामा संक्रमण नियन्त्रणका लागि हवाई र स्थल सीमानाका कडाइ गर्नु पर्ने चौतर्फी दबाब बढे पनि सरकारले यसलाई गम्भिर रुपमा लिएको छैन ।
गत वर्ष देशभर संक्रमितको संख्या दुई जना हुंदा भारत र चीन तर्फको सबै अन्तर्राष्ट्रिय सीमा नाका चैत १० गतेबाट बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्