९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


महन्थ ठाकुर ज्यू, मधेश हैन देश रोज्नुस


0
Shares

-संजिव कार्की

देश दुख्दा हामीलाई पनि दुख्छ । देशको माटोलाई पवित्र चन्दन सम्झेर माटोको टीका लगाउनेहरुलाई देश बिखन्डन, टुक्रा टुक्रा र छिन्नभिन्न हुने कुराले कति पोल्छ, कति चस्काउँछ, कति घोच्छ, कति तड्पाउछ, त्यो देश नहुनेहरुले अनुभव गर्लान । तर देश क्षतविक्षत पार्ने कुराले भविष्य कस्तो हुन्छ कति कहालीलाग्दो बन्छ, अनुभूत गर्ने मुटु चाहिँ हाम्रो पनि छ ।

देशको माया लाग्छ र नै खबरदारी गरिन्छ, पहरेदारी गरिन्छ ।  छुद्रको छुद्रता सामान्यतया पच्दो रहेछ तर भद्रको छुद्रताले अनिस्टको संकेत गरेको भान हुन्छ । मन अत्यासलाग्दो गरी तर्सन्छ । मधेशमा जब महन्थ ठाकुर नै देश टुक्रयाउने अभिव्यक्तिको सहारा मार्फत सत्तासँग बार्गेनिंग टुल्स प्रयोग गर्छन तव देश नदुख्ने कुरा हुँदैन । मधेशकै अरु नेताको लवज र महन्थ ठाकुरको लवजमा ठूलो अर्थगत भिन्नता छ । अरुले जे बोलुन, जसरी बोलुन त्यसलाई त्यतिधेरै मान्यता दिइन्न ।  वास्ता गरिन्न । औसत मधेसवादी राजनीतिकर्मीको विशेषता र सत्तालाई दिने घुर्कीको रुपमा बुझिन्छ ,तर महन्थ ठाकुरले गम्भीर भएर केही बोले भने त्यसले गरेको संकेत र भावी राजनीतिको परिदृश्यको कल्पना गर्नुपर्ने हुन्छ ।

महन्थ बोलीको वेट र आयतन अरु मधेशवादी नेताहरुको भन्दा गहकिलो र ओजनदार हुन्छ । वि.स. २०६३/०६४ को मधेश आन्दोलनमा अग्रणी सबै थिए तर देखाउन मिल्ने र इतर पक्षले पनि श्रद्दा र आदर गर्ने एक मात्र व्यक्ति थिए महन्थ ठाकुर । जसको कारण गिरिजाप्रसाद पनि झुक्न बाध्य बने र मधेश आन्दोलनमा व्यक्त आफ्नो पुर्व अडान परिवर्तन गर्न राजी भएका थिए । महन्थले बोलेपछि उनको चित्त दुखेपछि दुरगामी महत्त्व र देशलाई तत्काल र दीर्घकालीनरूपमा असर गर्ने कुराको लेखाजोखा अपरिहार्य हुन्छ । अरु मधेसवादीको बोली झैँ अर्थात राजपाका अध्यक्ष मण्डलका अरु सदस्यको झैँ हल्काफुल्का ढंगले बुझ्ने भुल गरियो भने त्यो सामान्य भूल मात्र पनि नहुनसक्छ । हेक्का राख्नुपर्ने कुरा के हो भने किन मधेस अलग राज्य बन्न पनि सक्छ भनेर महन्थ आफै बोले ?  यसरी हाकाहाकी नयाँ देश सिर्जना गर्ने वातावरण बन्यो भनेर महन्थ गर्जन आउनुमा पाक्दै गरेको राजनीतिको खिचडी कस्तो हुँदैछ । त्यसको पूर्वानुमान सरकारले अरु पार्टीहरु विशेष गरी कांग्रेस नेकपा लगायत अरुले गम्भीर भएर सोच्नु जरुरी छ । राजनीतिमा पुराना र अनुभवी अनि दशकदेखि फरक पृष्ठभूमिको राजनीतिमा लागेका व्यक्तिको बोलीको अर्थ खोजिएन भने त्यसले पैदा गर्ने संकट सोचे, सम्झे र अड्कल गरे जस्तो नहुन पनि सक्छ । गम्भीर भएर सोच्नुको अर्थ समस्या समाधानमा अत्यावश्यक तदारुकताको खाँचो भनिएको हो । मधेशको चित्त दुखाई अधिकार भन्दा आत्मसम्मानमा पुगेको चोट, आत्मसम्मानमा पुर्याइएको चोट र आत्मसम्मानमा आगामी दिनमा पुर्याइने चोटको बारेमा हो भन्दा अत्युक्ति हुँदैन । किनपनि भने नेपाल अधिराज्यको संबिधान २०७२ मा कसैलाई पनि विभेदको नीति लिएको छैन र संविधानको कुनैपनि धाराले असमान ब्यबहारको कल्पना गरेको छैन । 

यद्यपी,  व्यवहारिकरुपमा मधेश, पहाड, हिमाल दलित र जनजातिको रुपमा कहिँ कतै आत्मसम्मानमा चोट पुगेको र अप्रत्यक्षरुपमा विभेद रहेको तथ्य नकार्न सकिन्न । जातीय छुवाछुत र विभेदको नीति त समाजले हाकाहाकी स्वीकार गरेको कटु र अप्रिय सत्य हो । विभेद र असमानता हुनुको अर्थ राज्य टुक्रिनु देश छियाछिया हुनु कदापी स्वीकार्य चिन्तन र आदर्श हुन सक्तैन, हुनुहुँदैन ।  यसर्थ देश टुक्रने महन्थ चिन्तन अतिवाद हो, अतिशयोक्ति हो, प्रतिसोध र बदलाभाव हो ।

कुनै भूगोल कुनै वर्ण, रंग र धर्मको जन्म संयोग जन्मने र जन्माउनेको चाहना इच्छा, निवेदन र अभिप्रायको आधारमा नहुने हुनाले कसैको जन्म संयोग प्रति घृणा, बदला, अपमान बर्जित र अवान्छित कुरा हुन । समाजमा ब्याप्त कुरीति , असमानता र विभेद ब्यबहारिक रुपमा नै अन्त गर्नुपर्छ । त्यसमा दुईमत रहन्न तर यसको अर्थ यो होइन कि विभेदको बदला भिन्न देश निर्माण गर्ने र राष्ट्रघात हुने कार्य गर्न महन्थ ठाकुर जस्तो देशको प्रतिष्ठित र पाको नेताको अपरिपक्व चिन्तन । देशको नेताले एउटा सानो भूगोलको नेता हुन्छु , सानो भूगोललाई भूमी र रंगको आधारमा देश बनाउछु । मधेसको होइन देशको नेता हो महन्थ ठाकुर, देश चिनाएर बस्नुपर्ने महन्थलाई मधेशमात्र चिनाउन सुहाउन्न । मधेश चिनाउन मिल्छ सुहाउँछ तर मधेश मात्रैको चिनारीमा रम्न र रमाउन मिल्दैन । राष्ट्रिय नेता सानो भूगोलमा खुम्चन हुदैन ।  विभेद के मधेश के पहाड, के शहर, के गाउँ, के हिमाल कहाँ छैन र ?  विभेद भएको कारण देश टुक्रने हो भने देश सयौं टुक्रामा विभाजित हुने थुप्रै विषय र प्रसंगहरु ज्युका त्यू छन् । मधेश भित्र नै पनि विभेद छ । त्यो हटाउने कि टुक्र्याउने वातावरण बनाएर देश बिगार्ने ?

अत देश टुक्र्याउने अभिव्यक्ति फिर्ता लिएर समग्र देश बनाउने अभियानको नेतृत्वलाई ठाकुरको अनुभवको खाँचो छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर सीके राउतको हैसियतमा नझर्न महन्थ ठाकुरलाई विशेष निवेदन छ । आफ्नो हैसियत र गरिमा भुलेर सस्तो र भावनात्मक कुरामा नबग्न, जनताको सेन्टिमेन्टमा नखेल्न ठाकुर सचेत हुनुपर्छ । कसैको पुच्छर भएर होइन टाउको भएर सोच्नु बुद्दिमता हो । टाउकोले बुद्धी उमार्छ पुच्छरले होइन । तसर्थ टाउको भएर सोच्नु, सम्झनु सबैको लागि हितकर छ । सदियौंदेखि मधेशी भनेर हेप्ने र आत्मसम्मानमा पुर्याइने चोट छ । त्यसको निराकरण खोजिनु पर्छ ।

हाम्रा बीचमा समस्या छन् , समस्या नभएका होइनन तर समस्या देश अलग बनाउने हद र तहका होइनन् । समस्या निराकरण, उपचार देश बिखन्डन होइन । बिद्रोही हुन सकिन्छ बिद्रोह अधिकार प्राप्त गर्नको लागि जायज छ तर देशद्रोही कदम र सोच कहिल्यै जायज र मान्य हुदैन । विद्रोही हुने छूट देशद्रोही हुनको लागि होइन । पहाड ,हिमाल, तराईको बिबिध भौगोलिक स्वरूप देशको मौलिकता र अद्दितीय विशेषता हो बिखन्डन र विभाजनको सीमा र बोर्डर लाइन होइन । तराई , हिमाल र पहाड अन्योन्याश्रित रुपमा रहेका छन यसको भावनात्मक डोरो चुडाउने, गाँठो पार्ने र अल्झाउने, बल्झाउने कोही कतैबाट हुनु ठिक छैन । समस्या तराई मधेशमा मात्रै छैन, गरिवी, बेथिति अन्याय र अत्याचार पहाड, हिमाल ,सहर बजार जहाँसुकै छ । दुःख पहाडलाई मात्रै छैन तराई र हिमाललाई पनि छ । गरिवी , विषमता, अभाव र बेथितिको जालोले देशनै ढाकेको छ जसलाई तोडन सबै क्षेत्र, भूगोल, जात, धर्म, लिंग र वर्णको एकता परस्पर विश्वास र हातेमालो जरुरी छ ।

हामी फुटेर समृद्द बन्न सक्तैनौ । हामी जुट्यौ भने समृद्दीलाई रोक्ने, बिकासको गति छेक्ने र विषमता तोड्ने अभियनालाई कुनै पनि तगारोले बाधा पुर्याउन सक्तैन । एकता नै बल हो तसर्थ महन्थ ठाकुर ज्यू एकतामा जोड गर्नुस । फूट र टुटले न तपाई बलियो बन्न सक्नु हुन्छ न देश नै मजबूत बन्छ । पहाड हिमाल तराईको भूगोल अनुसार आ–आफ्नै किसिमका दुःख र अभाव छन् , अप्ठ्यारा र कठिनाईहरु छन् । भौगोलिक विकटता र सुगमताहरु छन् एकै प्रकारको दुःख सबै ठाउँमा नहुन सक्छ । उस्तै प्रकारको सुख नदेखिन सक्छ तर दुःख सबैतिर छ बेथिति जताततै छ यसमा दुई मत छैन तर केही सिमित बर्गका मान्छेहरुले गरेको अन्याय, अत्याचार दमन  र शासनको भागीदार सबै हुन् सक्तैनन् । जात र भूगोल अनि धर्मका आधारमा सबै पहाडे, मधिसे, हिमालेको एकै स्टाटस छैन त्यसैले सबैलाई शासक, सबैलाई शोषित भन्ने परिभाषामा न्यायको सिद्दान्त पनि लगाउनु र यथार्थ बस्तुस्थितिको ठोस विश्लेषण गरि नीति बनाउनु आजको आवश्यकता हो ।

तराई मात्र देख्नेले पहाड स्वर्ग ठानेको हुनसक्छ, पहाडमा मात्रै बस्नेले तराई र शहरलाई सबै अवसरले ढाकेको ठम्याई हुन् सक्छ । हिमालका मान्छेले आफु बाहेक अरुलाई सुखी देखेको हुन सक्छ तर वास्तविकता यस्तो छैन । दुःख–सुखको चक्र, अभाव र कष्टको वेदना सबै ठाउँमा छ । यो सत्य हो सबै भूगोलमा अवसरको वितरण समान रुपले नभएको परिस्थिति हुनसक्छ जसको पहिचान गरेर समानुपातिक वितरण प्रणाली राज्यले अपनाउनु पर्छ । त्यसको लागि दवाव बढाउनु पर्छ तर देश नै छिन्नभिन्न पार्ने सोच, रणनीति र कार्यनीति गलत छन त्याज्य छन् ।

देशरुपी आमाको छातीलाई टुक्रयाउने अभिव्यक्ति निन्दनीय र क्षमायोग्य हुदैन कसैगरी । भूगोलको जटिलताको आधारमा पहाडमा पनि अनेकौ समस्या छन् , सरकार पहाडमा मात्रै छैन तराई मधेशमा पनि छ । संविधानको कुनै पनि धाराले भौगोलिक आधारमा जात र रंगको आधारमा विभेद स्वीकार गरेको छैन तसर्थ आफुलाई परेको अन्याय र मर्का बारे बोल्ने, गुनासो गर्ने हक दावी गर्ने प्रशस्त ठाउँहरु यहि संबिधान र कानुनले बन्दोबस्त गरेका छन् तसर्थ छुट्टै देश, छुट्टै भूमिको वकालत अतिवादी र विखण्डनवादी सोच हो जसलाई छिटोभन्दा छिटो त्यागेर राष्ट्रिय नेता समग्र देसको नेता बन्नुस यो देश तपाईको हो । देश रोज्नुस मधेस मात्रै होइन । पहाडलाई जाडो बढे तराई मधेशले सेक्नुपर्छ, आंधी आए तराइमा पहाडले छेक्नुपर्छ । माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ ।