
काठमाडौं । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ ।
मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले जनाएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताउनुभयो ।
गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन् । आज केही भक्तजनहरू पूजाआजाका लागि बाइसधारा पुगेको भए पनि उद्यानमा प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको लामाले बताउनुभयो । बाइसधारामा सर्वसाधारणलाई प्रवेश रोक लगाइएपछि दर्शनार्थीहरू उद्यान बाहिरैबाट पूजाआजा गरिरहेका छन् ।
आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रहेको छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने प्रचलन पनि रहेको छ ।
यस्तै आज बिहानै नागर्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्की बाइसधारमा स्नान गर्ने परम्परा पनि छ । यसरी बाइसधारामा नुहाइसकेपछि मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्