
गृष्मा राजभण्डारी
काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रयासमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएपछि उपत्यका छाड्ने क्रम बढेको छ । गाउँ फर्कनेका लागि बसको टिकट लिनेको घुइँचो छ ।
बुधबार बिहान २ बजेदेखि टिकटका लागि लाइनमा बसेकाहरूलाई टिकट पाउने/नपाउने अत्तोपत्तो छैन । अन्योलकाबीच तछाडमछाड गर्दै लाइनबद्ध भएकाहरूलाई टिकट काउन्टर सञ्चालकले टिकट सकिएको संकेत गरे पनि टिकट पाउने आशामा लाइन लाग्न भने छोडेका छैनन् ।
गत वर्षको लकडाउनमा जस्तै यसपटक पनि शहर छोड्नेको त्यस्तै दृश्य दोहोरियो । काखमा लालाबाला अनि झिटीगुन्टा । सपरिवार बिचल्लीमा पर्ने डरले गाउँ जान बाध्य भएका सर्वसाधारणको घुइँचोले बसपार्कमा खुट्टा राख्ने ठाउँ छैन । कतिपय टिकट काउन्टरले अनलाइन टिकटको व्यवस्था गरेको भए पनि प्रभावकारी हुन नसक्दा एकतातिर संक्रमणको जोखिम बढेको छ भने सयौं यात्रु अलपत्र परेका छन् ।
टिकट लिएर फर्कनेको भीड बसपार्कमा हुँदा बाटोमा गुडेको बसबाटै यात्रा गर्नका लागि सडकको छेउछाउमा अलपत्र उभिएका यात्रुको सङख्या पनि कम थिएन । नेपालमा कोरोना संक्रमण देखिए यता तीन पटक लकडाउन तथा निषेधाज्ञाको सामना गरेका अध्ययन, अध्यापन तथा विभिन्न पेशामा आवद्ध नागरिकको प्रतिक्रिया यस्तो थियो ।
काठमाडौं छाड्न तीन दिन समय दिएको सरकारले सुरक्षित यात्राका लागि ठोस पहल नगर्दा एकातिर संक्रमण भयावह हुने त्रास बढेको छ भने अर्कातर्फ यात्रुले सास्ती पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्