
काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।
नवनियुक्त मन्त्री गुरुङको केहीबेरमा नीति तथा योजना आयोगको सभाहल पोखरामा सपथ गराइँदैछ ।
मनाङे मन्त्री भएसँगै गण्डकी प्रदेश सरकारको पक्षमा २८ मत पुगेको छ । ६० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ सांसद्को मत आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद रहेका छन् ।
बुधबार हुने भनिएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा राजीव गुरुङ उपस्थित हुनुभएको थिएन । उहाँसहित राष्ट्रिय जनमोर्चाको सांसद् खीमविक्रम शाही अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित नहुने भएपछि जनमोर्चाले संसद् बैठक स्थगित गर्न माग गर्दै सभामुखलार्ई पत्र बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्