
काठमाडौं । लुम्बिनी प्रदेश सभाका चार सांसदलाई कारबाही गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुग्नुभएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि सोही पार्टीका अर्का अध्यक्ष ठाकुर आयोग पुग्नुभएको हो । जसपा सांसदहरू सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई प्रदेश सभा सदस्य र पार्टीबाट निष्काशन गरेको थियो ।
बिहीबार प्रदेश सभा सचिवालयले चार सांसद्को पद रिक्त भएको सूचना जारी गरेपछि ठाकुर शुक्रबार आयोग पुग्नुभएको हो । यादव र संघीय परिषद् अध्यक्ष बाबुराम पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याएर उनीहरूलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएको थियो ।
तर, ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताउनुभएको छ । कारबाहीको निर्णय अवैध एवं गैरकानुनी रहेकोले त्यसलाई आधार मानेर निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन ठाकुरले आयोगलाई बुझाएको पत्रमा माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्