
रोमन आचार्य
काठमाडौं । दोस्रो भेरियन्टको कोरोना भाइरस जति हानिकारक छ, लोकतान्त्रिक प्रणालीमाथि दलहरूको स्वार्थी राजनीति त्यो भन्दा बढी धातक छ ।
सत्तारुढ दलभित्र केपी ओली र माधव नेपालको एकअर्कालाई सिध्याउने रणनीतिले नेकपा एमाले विभाजनको साइत कुरेको जस्तो मात्र देखिन्छ । लुम्बिनी प्रदेशमा सांसद कारबाही प्रकरणले, जुटेको एक वर्षमै जसपा अब सग्लो रहँदैन भन्ने पक्का छ । बाहिर ठिकठाक देखिएको नेपाली कांग्रेसमा भित्र भने गुटगत झगडाको डडेलो दन्किएको छ ।
शिशु संघीयता र लोकतान्त्रिक व्यवस्था संस्थागत बनाउने चाहना राजनीतिक दलहरूमा देखिँदैन । कोरोना विपतले जनस्वास्थ्यमा हाहाकार मच्चिदा संवैधानिक स्वायत्तता पाएका तहगत सरकार र त्यसको प्रतिनिधित्व गर्ने दलहरूलाई जनताको जिउधन भन्दा पनि कुर्सीको चिन्ता छ ।
कर्णाली प्रदेशमा आफ्नै दलका सांसदहरूले पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकारलाई बचाइदिएसँगै त्यही घटना केन्द्रमा दोहोरिने भय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई छ । ओलीले आफू लगायत समूहका नेता तथा सांसदहरूलाई कारबाही गरेपछि माधव नेपालले पार्टीमा विद्रोह सुरु गरेका छन् ।
महिला संघ, प्रदेश, भातृ तथा शुभेच्छुक संस्थाहरूमा समानान्तर कमिटी बनिरहेको छ । कारबाहीको डण्डा बर्साएर ओलीले पार्टीभित्र सांसद तथा वैधानिक हैसियत खोस्ने काम गरिरहेका छन् । राजनीतिक विश्लेषक लोकराज बराल यसलाई पार्टी विभाजनको गतिलो प्रमाणको रूपमा बुझ्नुहुन्छ ।
दल विभाजनसम्बन्धी अध्यादेश गतवर्ष ओलीले ल्याइदिएपछि एकिकृत बनेको जसपा उनै ओलीको कुर्सी जोगाइदिने नाममा पुनः विभाजित हुँदैछ । पार्टी ह्वीप विपरित लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरल विरुद्धको अविश्वास प्रस्तावको विपक्षमा उभिएका ४ जना सांसदलाई पदमुक्त गर्ने विषयमा देखिएको समूहगत लडाईंले जसपा विभाजनको डिलमा उभिएको हो ।
अध्यक्ष महन्थ ठाकुर पार्टीले गरेको कारबाही रोक्न माग गर्र्दै निर्वाचन आयोग पुगेपछि भट्टराई–यादव समूह बहुमत सांसदको साथमा ओलीलाई हटाउन केही दिनभित्रै अविश्वासको प्रस्तावको पक्षमा मत दिन तयार भएका छन् । यही प्रकरणलाई भट्टराई–यादव समूह पार्टी विभाजनको प्रस्थानविन्दूको रूपमा लिन्छ । ठाकुर पक्ष पार्टीभित्र दुर्घटना बेहोरेर भए पनि ओलीको संकटमोचक बन्ने दाउमा छ ।
कोरोना संकटसँग लड्न स्वास्थ्य प्रणालीले धान्दैन । समूदाय स्तरमा कन्ट्याक्ट ट्रेसिङ छैन, आइसोलेसन तथा भेन्टिलेटरको समस्या उस्तै छ । तर, प्रदेशमा जस्तै फ्लोर क्रस भएर आफ्नो कुर्सी जाला भन्ने भय ओलीमा छ । मधेशको हिमायती हुँ भन्ने दललाई पनि सरकारमा जाने हतारो छ । एमाले पतन एउटा एजेण्डा बन्ला तर, जसपा चिरा परे नौलो विषय बन्दैन । किनभने एकताको औचित्य नै हालसम्म जनताले थाहा पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्