
काठमाडौं । सरकारले कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्नै नसक्नेगरी बढेको भन्दै अब अस्पतालहरूमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले विशेषगरी मुलुकका २२ जिल्लामा संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै कोरोना संक्रमितका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको हो । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै संक्रमण रोकथामका उपाय अबलम्बन गर्न सबैलाई अपिल समेत गरेको छ ।
मन्त्रालयले कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरू पूर्णरूपमा नगर्न र नगराउन आग्रह गरेको छ । सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु नगर्न, नगराउन आग्रह गर्दै मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितिमा संवेदनशील बन्न सबैमाझ अपिल गरेको छ ।
मन्त्रालयले उपत्यतका सहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रूपमा समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्