
दाङ । दाङको तुलसीपुर स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय कारभित्र तीन जना बच्चाको शव भेटिएको घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली आउन लागेको जानकारी दिनुभयो ।
गाडीभित्र ३ वटा शवहरु देखिएपनि टोली आएपछि प्रमाणहरु संकलन गर्न कार भने नखोलिएको उहाँको भनाइ छ ।
प्रहरीले मृत्यु भएका बच्चाहरुमध्ये एकजना ९–१० वर्षको जस्तो छ भने अन्य दुईजना ७–८ वर्षको जस्तो देखिएको जनाएको छ ।
पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आर जे ०१ सीसी ०८८५ नम्बरको कारमा बच्चा मृत फेला परेका हुन् ।
गाडीभित्र बच्चाहरुको शव हिजो साँझ फेला परेको हो । गाडी स्याउली बजारमा गत माघदेखि पार्किङमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्