
प्रकाश नेपाल
इलाम । इलामको गाग्रे भञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम धुले सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
सडक कालोपत्रे भएसंगै दुई दिन पैदल हिडेर झापा पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएपछि उनीहरु उत्साहित भएका हुन् ।
झण्डै पाँच वर्ष अघि खुलेको यो सडक कालोपत्रे हुने भएपछि अब भने बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे नहुँने भएको छ ।
मेची राजमार्गको देउमाई नगरपालिका रक्से बजारदेखि झापालाई जोड्ने बैकल्पिक द्रुत मार्गको रूपमा लिइएको यो सडकले जिल्लाको मध्य पश्चिम क्षेत्रका दर्जनौं गाउँलाई झापा हुँदै प्रदेश र संघीय राजधानीलाई जोडेको छ ।
यसका साथै पाँचथर, ताप्लेजुङ, र तेह्रथुमको उत्तर पूर्वी गाउँका बासिन्दालाई तराईसँग नजिकैको सम्बन्ध निर्माण गरिदिनेछ । यतिबेला सडकाको गाग्रे भञ्ज्याङदेखि सोयाक खरायो डाँडासम्मको काम धमाधम भइरहेको छ ।
लामो समयको प्रतिक्षापछि सडक कालोपत्रे हुने भएपछि एकैदिनमा झापा–इलाम ओहोरदोहोर गर्ने यहाँका बासिन्दाको सपना पुरा हुने भएको छ ।
सडक सञ्जालले जोडिएपछि गाउँको नगदेबालीको बजार मूल्यमासमेत बृद्धि हुने भएको छ ।
कृषि उत्पादनको बजारिकरणमा सहज हुने र स्थानीयवासीको आर्थिक जीवनस्तर उकास्दै घर जग्गाको मूल्य समेत बढ्न थालेको स्थानियहरु बताउछन् ।
सडकले आँगन बनाएको देउमाई नगरपालिकाको मंगलबारे, गाग्रे भञ्ज्याङ, जीतपुरे, नवमी, पञ्चमी, सोयाक भञ्ज्याङ बजार, माई नगरपालिकाको सोमबारे, सितली, शुक्रबारे जस्ता आधा दर्जन साना ठूला बजार पसलले झापाको विभिन्न ठाउँका बजारसँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्नेछ ।
बारीमा फलाएको सागसब्जी तराइका बजारमा बिक्री गरेर घर फर्कन सहज बनाउँने मात्र छैन यसले पारिवारको आर्थिक जीवनस्तरलाई टेवा समेत पु¥याउँनेछ ।
३९ करोड ८६ लाख रुपैयाँमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी प्यासिफिक इलाइट जेभीले सडकको ठेक्का लिएको हो ।
सडक कालोपत्रेसँगै माई नगरपालिकाको लोदिया खोलामा निर्माणाधिन पुल सम्पन्न भएमा १२ महिना नै सडक यातायात सहज बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्