
खिलनाथ ताजपुरिया
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि सबैको आँखा नेकपा एमालेको माधव नेपाल समूहप्रति छ ।
नेपाल पक्षले प्रधानमन्त्रीको पक्षमा मतदान नगरे जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको समर्थनको पनि अर्थ नहुन सक्छ । एमालेको नेपाल पक्ष भने पार्टीमा आत्मसम्मान नभए आत्म समर्पण गरेर ओली सत्ता टिकाउन नलाग्नेमा दृढ देखिन्छ ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले केपी शर्मा ओलीलाई विश्वासको मत नदिने पक्कापक्की छ । त्यसैले सिङ्गो एमाले र जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहको मतमा ओली सरकारको भविश्य निर्भर छ ।
पार्टीभित्र लगभग पानी बाराबारको अवस्थामा पुगेको बेला एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षबाट ओलीले संसदमा मत प्राप्त गर्नुहोला त भन्ने प्रश्न अहम् बनेको छ ।
अहिलेसम्मकोे अवस्था हेर्दा नेपाल पक्ष ओलीलाई काँध हालेर हिड्न तयार देखिँदैन । नेपाल पक्षका नेता युवराज ज्ञवाली एमालेलाई तत्कालीन माओवादी केन्द्रसँगको एकता पूर्वको अवस्थामा फर्काएर एकता जोगाउन तयार भए मात्र ओलीलाई साथ दिने बताउनुहुन्छ ।
यो शर्त ओलीले अस्वीकार गरिसक्नुभएको छ । यस हिसाबले ओलीलाई विश्वासको मत दिएर प्रधानमन्त्रीमा निरन्तरता दिन माधव पक्ष तयार हुने सम्भावना अहिलेसम्म क्षीणनै देखिन्छ । यदि ओलीले फेरि पनि प्रतिगमनकै दिशामै अघि बढ्ने हो भने स्थिति बिग्रिएर जाने ज्ञवालीको भनाइ छ ।
प्रधानमन्त्रीमा निरन्तरताका निम्ति संसदमा आवश्यक मतको संंख्या पुर्याउन आफ्नै दल एमाले सम्हाल्नु ओलीका लागि सबै भन्दा कठिन र जटिल परीक्षा हुने देखिएको छ । ओलीले नेपाल पक्षलाई आत्मसमर्पण नै गराउन चाहिरहने हो भने कर्णाली प्रदेश सभाको दृश्य संघीय संसद भवनमा पनि नदोहोरिएला भन्न सकिँदैन ।
प्रतिक्रिया दिनुहोस्