१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वाणिज्य विभाग भन्छ- ‘तीन महिनाको लागि पुग्ने खाद्यसामग्री छ, मौज्दात नगर्नुस्’


0
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनाका लागि पुग्ने खाद्य सामग्रीको मौज्दात रहेकाले अनावश्यक संग्रह नगर्न आग्रह गरेको छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले दाल, चामल, चिनी, नुन, तेलजस्ता खाद्य सामाग्रीहरू पूर्ण रूपमा लकडाउन गरिए पनि तीन महिनाको माग धान्ने गरि स्टकमा रहेको जानकारी दिनुभयो । उहाँले बजारमा खाद्य सामग्रीको उपलब्धतामा कुनै कमी नहुने भन्दै सञ्चय नगर्न उपभोत्ताहरूलाई आग्रह गर्नुभयो ।

महानिर्देशक पौडेलले बजार अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउनुभयो । मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उहाँले जानकारी दिनुभयो ।

उता उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने बजारमा आपूर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुहरूको अस्वभाविक रूपमा मुल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

अधिकारकर्मी तिमिल्सिनाले संकटको अवस्थामा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित जेल चलानसम्मको कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।