
प्रकाश नेपाल
इलाम । किवि उत्पादन हुने प्रमुख स्थान इलामको तालगाउँ किवीवस्ती, जीतपुरे र पुवामझुवा क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको छ । फूल्न र चिचिला बस्न शुरु गरेको किविमा असिना पानीले क्षति पु¥याएको हो । असिनाले किवि बाहेक चिया, मकै, तरकारी बालीमा समेत असर गरेको छ ।
इलाममा पानी र हावाहुरीसहित परेको असीनाले किसानले लगाएको किवि, मकै, चिया र तरकारीबाली पूर्ण रुपमा क्षति गरेको छ । हावाहुरीसहित आएको असीनापानी विगत १४ वर्ष यताकै ठूलो भएको किसानहरूको भनाइ छ । लटरम्म चिचिला बसेका किविका झाङ असिनापानीले कुटेर धुस्नो पारेको सन्दकपुरका किवि किसानहरू तारामणी खतिवडा र बेनुप खतिवडा बताउनुहुन्छ ।
किवि सहित अलैंची र चियामा असिनाले क्षति पुर्याएको छ । तरकारी बाली र आलुबालीमा पनि क्षति पुगेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको व्यापक असर देखिएको छ ।
हावासहित परेको असिनाले घर र गोठका जस्ताका छाना प्वाल पारेको र उडाएको छ । कृषि ज्ञान केन्द्र इलामले असिनाको क्षतिबारे तथ्याङ्क संकलन सुरु गरेको छ । जिल्लाका करिव एक हजार ६ सय रोपनी क्षेत्रमा लगाइएको किवि बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाको भनाइ छ ।
फूल फूल्ने सिजनमा असिनाले किविलगायतका नगदेबालीमा पूर्ण क्षति गर्नेे भएकाले राहतका कार्यक्रम ल्याउन किसानले माग गरेका छन् । कृषि बालीमा बीमा र बाली संरक्षणका लागि अनुदान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने किसानको माग छ । एकातिर कोरोना महामारी र अर्कातिर प्राकृतिक विपत्तिले बालीनाली सखाप हुँदा किसान मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्